नवलपरासी– पश्चिम नवलपरासीस्थित जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा अत्याधुनिक सुविधा सम्पन्न शव परीक्षण गृह निर्माण भएको छ ।
नवनिर्मित शवगृहमा शव परीक्षण गर्ने र शव राख्ने छुट्टाछुट्टै कोठा रहेका छन् भने शव नगनाउने फ्रिजको व्यवस्था गरिएको छ ।
यसैगरी आधुनिक प्रविधिसमेत जडान गरिएकाले अब छिटोछरितो शव परीक्षण गर्न सकिने व्यवस्था मिलाइएको अस्पतालका प्रबन्धक सुरेन्द्र अधिकारीले जानकारी दिए ।
प्रदेश नं ५ स्थित सामाजिक विकास मन्त्रालयको रु ५० लाखको लागतमा बनेको उक्त शवगृहमा एकपटकमा छ वटासम्म शव चिसो बनाएर राख्न सक्ने क्षमता रहेको छ ।
अस्पतालमा रहेको पुरानो शवगृह सडकको छेउमा र सुविधायुक्त नभएका कारण दुर्गन्ध फैलिएर नागरिकले सास्ती पाउँदै आएका थिए । राससमा यस विषयमा पटकपटक समाचार प्रवाह भएपछि अस्पतालले प्रदेश सरकारसँग समन्वय गरी शवगृह निर्माण गरेको हो ।
शवगृह निर्माणसँगै सडक छेउमा रहेको पुरानो शवगृहलाई भत्काइने छ भने अब नयाँ शवगृहको प्रयोगबाट वातावरणसमेत स्वच्छ रहने अपेक्षा गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शिवशङ्कर रायले बताए । अब शवपरीक्षण गर्न र धेरै दिन राख्नुपर्ने भएमा पनि सहज हुने उनले बताए ।
अस्पतालको उत्तरपूर्वमा रहेको खाली जग्गामा निर्माण गरिएको उक्त शवगृहको आज प्रदेश नं. ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गर्दै प्रदेश सरकारले अस्पतालका श्ययाभन्दा पनि सुविधा र सेवा विस्तारमा केन्द्रित रहेको बताए ।
'प्रदेशभित्र रहेका धेरै अस्पताल पुराना छन्, तर त्यहाँ आवश्यक प्रविधि, सेवा सुविधाको अभावमा बिरामीले प्रभावकारी उपचार सेवा पाउन नसकेको अवस्था देखिएपछि हामीले सेवा विस्तारलाई बढी जोड दिएका हौं,' उनले भने ।