
काठमाडौं – इटलीका राष्ट्रपति सर्जिओ माट्टारेलाले प्रधानमन्त्री जोसेप्पे कोन्टेको राजीनामा स्वीकार गरेका छन् र राजनीतिक संकटको समाधान खोज्न दलका नेताहरूसँग वार्ता थालेका छन् ।
सरकार गठनको वार्ता चलिरहँदा माट्टारेलाले कोन्टेलाई कार्यवाहक प्रधानमन्त्रीका रूपमा काम गरिरहन आग्रह गरेका छन् ।
राष्ट्रपतिले बुधवार अपराह्न ४ बजेबाट बैठक शुरू गर्नेछन् र बिहीवार अपराह्नमा सिध्याउनेछन् ।
नयाँ सरकार गठनका लागि राजनीतिक इच्छाशक्ति रहेको नरहेको उनले विचार गर्नेछन् ।
यस्तो स्थिति नरहेको पाएमा उनले संसद् भंग गरेर चुनाव घोषणा गर्नुपर्ने हुन्छ । नियमित चुनावका लागि अझै साढे ३ वर्ष बाँकी छ ।
कोन्टेले मंगलवार राजीनामाको घोषणा गरेका हुन् । गठबबन्धन साझेदार लीग पार्टीका नेता तथा गृहमन्त्री म्याट्टियो साल्भिनीले सरकारलाई समर्थन नदिने भनेपछि कोन्टेको राजीनामा आएको हो ।
कोन्टेले राजीनामा दिने क्रममा साल्भिनीलाई गैरजिम्मेवार र अवसरवादी पनि भने ।
आप्रवासीहरूको जहाजका विषयमा गठबन्धन साझेदारहरूबीच झगडा भएको थियो । यसले गर्दा अक्टोबर महिनामै पनि आमचुनाव गरिन सक्ने सम्भावना छ । साल्भिनीले उक्त चुनाव जित्ने आशा गरेका छन् ।
युरोपेली संसदमा लीग दलले कोन्टेको फाइभ स्टार मुभमेन्टभन्दा राम्रो प्रदर्शन गरेपछि लीगका नेता साल्भिनी महत्त्वाकांक्षी बनेको विश्लेषण गरिँदैछ ।
अब फाइभ स्टार मुभमेन्ट र सेन्टरलेफ्ट विपक्षी दल डेमोक्रेटिक पार्टीबीच वैकल्पिक गठबन्धन बन्ने सम्भावना पनि छ । अझ त्यसको विकल्पमा फाइभ स्टार मुभमेन्टले लीगसँग अर्को गठबन्धन गर्ने तर प्रधानमन्त्री अर्कै व्यक्ति बनाइने सम्भावना पनि छ ।
एजेन्सी