काठमाडौं – राष्ट्रिय सभा सदस्य कालीबहादुर मल्लले भीडतन्त्रले न्याय निरूपण गर्न नसक्ने बताएका छन् ।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सामाजिक सञ्जालमा भइरहेको हल्ला र चितवनमा जारी आन्दोलनतर्फ संकेत गर्दै उनले भने– 'भीडतन्त्रले न्याय निरुपण गर्ने होइन, न्यायालयले न्यायको निरुपण गर्छ । संविधानको रक्षा सबैले गर्नुपर्छ ।'
राष्ट्रिय सभाको बुधवारको बैठकको विशेष समयमा बोल्दै सांसद मल्लले समाजिक सञ्जालले कसैलाई दोषी र निर्दाेष प्रमाणित गर्न नसक्ने जिकिर गरे ।
समृद्ध नेपाल सुखी नेपाली बनाउने सरकारको लक्ष्यलाई सबैले साथ र सहयोग दिन उनको आग्रह छ ।
सांसद खिमकुमार विक र रामनारायण बिँडारीले सञ्चारकर्मी रवि लामिछानेमाथिको छानबिनमा बाधा पुर्याउनेलाई कारवाही गर्नुपर्छ, भने ।
सांसद सुमनराज प्याकुरेलले नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय भेटघाट तथा छलफल हुँदा कोशी सम्झौताका बारेमा कुराकानी गर्न आग्रह गरे ।
उनले भने, 'भारतले कोशी सम्झौता कार्यान्वयन नगर्दा नेपाललाई असर परेको छ । अहिले सप्तरी, उदयपुरवासी रिले अनशनमा छन् । अनशनरत जनताको माग सम्बोधन हुनुपर्छ ।'
सांसद मुक्ताकुमारी यादवले देशमा आत्महत्याका प्रवृत्ति किन बढिरहेको छ, यसतर्फ अध्ययन गरी तत्काल समस्यालाई सम्बोधन गर्ने कार्यक्रम ल्याउन सरकारसंग माग गरिन् ।
सांसद कोमल ओलीले नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय बैठकमा जलस्रोत सम्झौता कार्यान्वयनका विषयमा नेपालले भारतसित कुराकानी गर्न सुझाव दिइन् ।
सांसद तारादेवी भट्टले युवाहरूलाई स्वदेशभित्र नै रोजगारीको व्यवस्था मिलाउन माग गरिन् । सांसद रामप्रीत पासवानले प्रक्रिया पुगेका नागरिकलाई नागरिकता दिनुपर्छ, भने ।
सांसद रमेशप्रसाद यादवले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न र सांसद प्रकाश पन्तले अपाङ्गता भएका व्यक्तिको शिक्षक कोटामा अन्य व्यक्तिलाई नियुक्त नगर्न सरकारको ध्यानाकर्षण गराए ।