०२ असार २०८३, मंगलबार

नेपाली सेनाको संयुक्त अभ्यास इतिहास : फाइदा कि बेफाइदा ?

भदौ ४, २०७६
नेपाली सेनाको संयुक्त अभ्यास इतिहास : फाइदा कि बेफाइदा ?

काठमाडौं – नेपाली सेना र विभिन्न देशका सेनाबीच सैन्य अभ्यास समय–समयमा भइरहन्छन् ।

नेपाली सेना र भारतीय सेना, नेपाली सेना र चिनियाँ जनमुक्ति सेना, नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास नेपाली सेनाले गर्दै आएको छ ।

नेपाली सेना र पाकिस्तानी सेना, बेलायती सेना र श्रीलंकन सेनाबीच नियमित रुपमा सैन्य पेशागत अभ्यास हुँदै आएको नेपाली सेनाले जनाएको छ ।

नेपाल–भारत संयुक्त अभ्यास

भारतसँग नेपाल–भारत संयुक्त ‘इण्डो नेपाल संयुक्त तालिम’ ‘सूर्यकिरण’ नाम दिएर २०६७ सालदेखि हुँदै आएको १५ दिनसम्म चल्ने हाल २०७५ सालसम्म १३ वटा संयुक्त सैन्य अभ्यास गरेको नेपाली सेना प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । 

‘शुरूवात हामीले प्लाटुन तहबाट गरेका हौं । विक्रम संवत् २०६७ सालदेखि हालसम्म १३ वटा अभ्यास गरेका छौं । अहिले माथिल्लो ‘गण’ तहमा पनि हुने गर्दछ,’ उनले भने ।

शुरूमा ‘जंगल वार फेस’बाट शुरूवात भएको थियो । ‘प्रतिविद्रोह’ र ‘जंगल वार फेस’, विपत् उद्दार लगायतका अभ्यास हुने गरेको सेनाले जनाएको छ ।

नेपाल र भारतबीच हरेक वर्ष ‘रेसीप्रोकल’ अर्थात् १ वर्ष भारतमा र अर्को वर्ष नेपालमा हुने गरेको अभ्यास विक्रम संवत् २०७६ सालको मंसिर महिनामा नेपालको ‘ब्याटल स्कूल’ रुपन्देहीको साल्झण्डीमा हुन लागेको सेनाले जनाएको छ । हालसम्म दुवै देशका ३ हजारभन्दा बढी सेनाले संयुक्त अभ्यासमा भाग लिइसकेको सेनाले बतायो ।

नेपाल–चीन संयुक्त अभ्यास

नेपाल र चीनबीच ‘सगरमाथा फ्रेण्डसीप’ नाम दिइएको संयुक्त अभ्यासमा विश्वभरमा सुरक्षा चुनौतीको रुपमा देखिँदै आएको आतंकवादबाट भविष्यमा हुनसक्ने सम्भावित चुनौतीलाई मध्यनजर गरेर अभ्यास गर्दै हुँदै आएको छ ।

२०७४ सालबाट शुरूवात भएको संयुक्त अभ्यास पहिलो नेपालमा, दोस्रो २०७५ सालमा चीनमा भएको थियो भने तेस्रो नेपालमा हुने भएको सेनाले जनाएको छ । आफूहरूसँग भएको ज्ञान र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अभ्यास गर्दै आएको प्रवक्ता पाण्डेले बताए ।

‘काउन्टर टेरोरिज्म, प्रतिआतकंवाद सम्बन्धी ड्रीलहरू लगायतका विषयमा अभ्यास हुने गरेको छ,’ उनले लोकान्तरसँग भने । गत साउनमा हुने भनिएको नेपाली सेना र जनमुक्ति सेनाबीच नियमित संयुक्त सैन्य अभ्यास चीनले समय नदिँदा रोकिएको छ ।

नेपाल–अमेरिका संयुक्त अभ्यास

नेपाल र अमेरिकाबीच विपद् व्यवस्थापन सम्बन्धी ‘ब्यालेन्स नेल’ नाम दिएको अभ्यास हुँदै आएको छ । सन् २००३ देखि एकआपसमा प्रत्येक वर्ष मेडिकल, इन्जिनियरिङ, प्राड लगायत विषयका अभ्यास गर्दै आएको सेनाले जनाएको छ । हालसम्म नेपाल र अमेरिकाका ४ सय २० जना सेनाले अभ्यास गरिसकेका छन् ।

नेपाल–बेलायत अभ्यास

बेलायत र नेपाली सेनाबीच आवश्यकता अनुरुपको तालिम सञ्चालन हुँदै आएको छ । पेशागत प्रतिस्पर्धा, भेटनरी, फायर फाइटिङ लगायतका विषयमा संयुक्त अभ्यास हुँदै आएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । ‘सन् २०१५ देखि संयुक्त रुपमा पेशागत प्रतिस्पर्धा लगायत आपसी ज्ञान आदानप्रदानका विषयमा अभ्यास हुँदै आएको छ,’ उनले भने ।

पाकिस्तानसँग २०१६ देखि नियमित रुपमा पेशागत अभ्यास हुँदै आएको छ । पेशागत दक्षता, क्षमता, सीप लगायतका विषयमा संयुक्त अभ्यास गर्दै आएको सेनाले जनाएको छ ।

संयुक्त राज्यसँग सन् २०१४ देखि कम्पास, नक्साको भर अफस्ट्रायकल कसरी पत्ता लगाउने, बिरामीलाई कसरी उद्दार गर्नेजस्ता विषयमा अभ्यास गर्दै आएको सेनाको भनाइ छ ।

अभ्यासले नेपली सेनाको क्षमता अभिवृद्धि, ज्ञान, नयाँ प्रविधिको ज्ञान हुने प्रवक्ता पाण्डले बताए । पाण्डले लोकान्तरसँग भने, ‘यस्ता अभ्यासले विश्वमा विकास भइरहेको नयाँ–नयाँ प्रविधिको बारेमा ज्ञान हुनुका साथै नेपाली सेनाको क्षमता अभिवृद्धिमा समेत सहयोग पुर्‍याउँछ ।’

के भन्छन् विज्ञ ?

विश्वस्तरमा विभिन्न देशमा विभिन्न परिस्थितिमा आफ्नै खालका तरिकाले काम गर्छ अर्थात् हरेक देशका आफ्ना परिस्थिति र भौगोलिक परिस्थिति हुन्छन्, त्यसबारे एकआपसमा जानकारी लिनको लागि संयुक्त अभ्यासले मद्दत गर्ने सुरक्षा विज्ञ दिपक भट्टले बताए ।

‘सबै देशको सेनाको आफ्नो काम गर्ने तरिका हुन्छ । नेपाल यूएन मिसनमा जाने टप ५ भित्र पर्ने देश पनि हो,’ भट्टले भने, ‘यसको मतलब नेपाली सेनाले विभिन्न देशसँग मिलेर काम गर्ने भएकाले यस्ता अभ्यासले फाइदा पुर्‍याउँछ ।’

संयुक्त रुपमा अभ्यास गर्दा अरु देशका सेनाले कसरी कार्य गर्छ, आफ्नो देशका सेनाले कसरी काम गरिरहेको छ भन्ने कुराको जाँच गर्न सकिने नेपाली सेनाका पूर्व उपरथी बालानन्द शर्माले बताए ।

‘अरु देशका सेनाले गरेको काम र हाम्रो सेनाले गरेको कामको तुलना गरेर आफूलाई सुधार गर्न सकिन्छ,’ उनले भने, ‘विश्वमा विज्ञान र प्रविधिले कहाँ पुग्यो र हामी कहाँ छौं भन्ने विषयमा पनि ज्ञान लिन र दिन सकिन्छ ।’

विश्वका अन्य देशभन्दा नेपालको भौगोलिक परिस्थिति फरक भएकाले पनि अन्य देशका सेनाले नेपालका सेनासँग संयुक्त अभ्यास गर्न मन पराउँछन् । किनकि नेपालमा विश्वका अग्ला–अग्ला हिमचुचुरा पनि छन् । चिसो ठाउँमा कसरी सेनाले काम गर्ने भन्ने विषयमा पनि अन्य देशका सेनाले ज्ञान पाउने पूर्व उपरथी शमाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्