काठमाडौं, १६ चैत– विभिन्न व्यक्तिले सरकारबाट अनुमति लिएर राखेका हातहतियारहरु बैशाख १५ गतेभित्र स्थानीय प्रशासनमा बुझाइ सक्न गृहमन्त्रालयले सर्वसाधारणका लागि उर्दी जारी गरेको छ ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै बैशाख ३१ गते हुने स्थानीय निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरण बनाउन इजाजत प्राप्त हातहतियार नजिकको प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेको हो ।
हातहतियार तथा खरखजाना ऐन २०१९ को दफा ८ बमोजिम आफूलाई असुरक्षित महसुस गर्ने हरेक नेपाली नागरिकले प्रशासनको स्वीकृती लिएर हतियार राख्न पाउने व्यवस्था छ ।
त्यस्ता हातहतियारहरुले निर्वाचनलाई प्रभावित गर्ने भन्दै पछिल्लो समय सरकारले त्यस्ता हतियारहरु निर्वाचन सम्पन्न नभएसम्मका लागि स्थानीय प्रशासनमा बुझाउन आग्रह गर्दै आएको छ ।