०३ असार २०८३, बुधबार

भारतले अफगानिस्तानमा आईएससँग लड्नुपर्ने ट्रम्पको भनाइ

भारतले अफगानिस्तानमा आईएससँग लड्नुपर्ने ट्रम्पको भनाइ

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानमा इस्लामिक स्टेटविरुद्ध भारतले लडाईं गर्नुपर्ने बताएका छन् । 

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले अफगानिस्तानमा आतंकवादी संगठनसँगको लडाईंमा भारत, रुस, टर्की, इराक र पाकिस्तानले आआफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए । 

ट्रम्पले गुनासो गर्दै सात हजार माइल टाढा रहेको अमेरिकाले अफगानिस्तानमा आतंकवादीहरूका विरुद्ध कारवाही चलाइरहेको अनि अन्य देशले चाहिँ पटक्कै सहयोग नगरिरहेको बताए । 

अफगानिस्तानमा आतंकवादी संगठन आईएसको बढ्दो सक्रियताका विषयमा ट्रम्पले भने, ‘भारत त्यहाँ उपस्थित छ र लडिरहेको छैन । हामीहरू लडिरहेका छौं । पाकिस्तान पनि नजिकै छ र लडिरहेको छ तर एकदमै कम कोशिश गरिरहेको छ । आईएस भएको ठाउँ नजिकका देशले उसविरुद्ध लड्नैपर्छ ।’

अफगानिस्तानमा भारतको भूमिकाका सम्बन्धमा अमेरिकी राष्ट्रपतिको रणनीतिमा यो ठूलो परिवर्तन हो । भारतलाई आतंकवादविरोधी अभियानमा भाग लिन भनिएको थिएन र भारत आफैं पनि सैन्य कारवाहीमा संलग्न हुन चाहँदैन । त्यसैले अहिले ट्रम्पको नयाँ आशाले भारत हच्किएको छ । 

इराक र सिरियामा आफ्नो कब्जा गुमाएपछि आतंकवादी संगठन आईएस अफगानिस्तानमा पकड बलियो बनाउन खोज्दैछ । अफगानिस्तानमा केही दिनअघि एउटा आत्मघाती आक्रमणमा ६३ जनाको मृत्यु हुँदा आईएसले त्यसको जिम्मा लिएको थियो । 

ट्रम्प विगत १८ वर्षदेखि चलिरहेको युद्धबाट अमेरिकालाई बाहिर निकाल्न चाहन्छन् । त्यहाँ आतंकवादीहरूलाई परास्त गर्न अब अन्य देशले सहयोग गर्नुपर्ने उनको धारणा छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्