
काठमाडौं – अमेरिकाले भविष्यको युद्धक्षेत्र कहलिने अन्तरिक्षमा आफ्नो हितको रक्षाका लागि अन्तरिक्ष कमान्ड स्थापना गरेको छ ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीवार आधिकारिक रूपमा यस कमान्डको शुरूआत गरे । जनरल जोन डब्ल्यू रेमन्डलाई नवगठित अमेरिकी अन्तरिक्ष कमान्डको कमान्डर नियुक्त गरिएको छ । यस कमान्डको स्थापना अमेरिकी सेनाको ११औं एकीकृत लडाकू कमान्डका रूपमा गरिएको हो ।
ह्वाइट हाउसको रोज गार्डनमा आयोजित औपचारिक समारोहमा ट्रम्पले भने, ‘यो ठूलो पहल हो । नवगठित लडाकू कमान्ड स्पेसकमले अन्तरिक्षमा अमेरिकी हितको रक्षा गर्नेछ र त्यो भविष्यको युद्धक्षेत्र हो ।’
समारोहमा अन्य गण्यमान्य मानिसहरूसँगै उपराष्ट्रपति माइक पेन्स र रक्षामन्त्री मार्क एस्पर पनि थिए । रुस र चीनले अन्तरिक्षमा अमेरिकालाई खतरा उत्पन्न गर्न सक्ने ट्रम्प प्रशासनको आकलन छ ।
ट्रम्पले भने, ‘अमेरिकाको अहित गर्ने मनसाय राख्ने, हामीलाई अन्तरिक्षमा चुनौती दिने कोशिश गर्नेले ठूलो मूल्य चुकाउनुपर्नेछ । हाम्रा विरोधीहरू नयाँ प्रविधि अपनाएर अमेरिकी उपग्रहलाई तारो बनाएर पृथ्वीका कक्षहरूलाई सशस्त्र बनाउँदैछन् । ती उपग्रह युद्ध क्षेत्र अभियान र हाम्रो जिउने तरिकाका लागि महत्त्वपूर्ण छ ।’
अन्तरिक्ष कमान्डपछि छिट्टै सेनाको छैठौं इकाइका रूपमा अमेरिकाको अन्तरिक्ष बल स्थापना गरिने ट्रम्पको भनाइ छ । यस बलले स्पेसकम मिसनका लागि सैनिकहरूलाई प्रशिक्षित गर्न र बन्दोबस्तीको सामान उपलब्ध गराउन सहायता गर्नेछ ।
एजेन्सी