०४ साउन २०८३, सोमबार

सहयोगापेक्षी मानव व्यवस्थापन गर्न सवारी साधन हस्तान्तरण

सहयोगापेक्षी मानव व्यवस्थापन गर्न सवारी साधन हस्तान्तरण
फाइल फोटो

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले सहयोगापेक्षी सडक मानवको व्यवस्थापनका लागि खरीद गरिएको सवारीसाधन मानव सेवा आश्रमलाई हस्तान्तरण गरेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले आज राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई सवारी साधनको साँचो हस्तान्तरण गरेका हुन् । 

प्रमुख शाक्यले महानगरको सडकलाई सहयोगापेक्षी सडक मानव मुक्त नगरी ‘स्मार्ट’ सिटीको अवधारणा सार्थक नहुने बताए । कामपाले निजी सार्वजनिक साझेदारीमार्फत नै विभिन्न योजना अघि सारेको उनले बताए ।

कामपाले साझासँगको सहकार्यमा बस सञ्चालन गरिरहेको र विभिन्न संस्थासँगको सहकार्यमा यो वर्ष १० एम्बुलेन्स हस्तान्तरण गरेको छ । उनले भने,“सहयोगापेक्षी सडक मानव हटाउनका लागि पनि साझेदारीमा नै अघि बढेका छौँ ।”

महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले विकास भनेको जादुको छडी नभएको बताइन्। कामपाले आश्रमका लागि भाडाबापत रकम छुट्याएको र भवन निर्माणका लागि आवश्यक रकम उपलब्ध गराउने उनले बताइन् । 

अध्यक्ष अधिकारीले संस्थाले सहयोगापेक्षी सडक मानवमुक्त देश घोषणाका लागि स्थानीय सरकारसँगको सहकार्यमा काम गरिरहेको बताए । संस्थाले विसं २०८२ सम्ममा शारीरिक तथा मानसिकरुपमा अस्वस्थ भई खुला आकाशमुनि रात बिताउन बाध्य सहयोगापेक्षी मानवरहित राष्ट्र घोषणा गर्न लागिपरेको बताए । उनले भने, “अहिले पनि हामीले सडकबाट उद्धार गरेकालाई सामाखुशी, बूढानीलकण्ठ र सातै प्रदेशमा रहेका आश्रममा आश्रय दिइरहेका छौँ ।”

संस्थाका १३ जिल्लामा १५ वटा मानव सेवा आश्रम रहेका छन् । आश्रमले सडकबाट उद्धार गरेर ६५० जनालाई परिवारसँग पुनःमिलन गराइसकेको छ भने हाल झण्डै ८०० जना सेवा लिइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्