२९ असार २०८३, सोमबार

चितवनमा देशकै ठूलो शपिङ मल, छतमा स्वीमिङ पूल सहितको चेन होटल

चितवनमा देशकै ठूलो शपिङ मल, छतमा स्वीमिङ पूल सहितको चेन होटल

चितवन– व्यवस्थित शहरीकरणको दिशामा उन्मुख चितवनको भरतपुरमा आधुनिक शपिङ मल सहितको बिजनेस कम्प्लेक्स सञ्चालनमा आएको छ । चौधरी ग्रुपले बनाएको सीजी ल्याण्डमार्क बिल्डिङ भरतपुरकै अग्लो र व्यवस्थित भवन हो ।

भरतपुरको चौबीसकोटी र नारायणगढ बजारको बीचमा अवस्थित यस भवनभित्र नयाँ पुस्तालाई लक्षित गरी स्थापना गरिएको शपिङ मलमा स्वदेशीदेखि अन्तर्राष्ट्रिय ब्राण्डका सामग्री उपलब्ध हुनेछन् । 

‘शहरभित्रको शहर’ नाम दिइएको बिजनेस कम्प्लेक्सका केही पसल साउन ४ गतेदेखि सञ्चालनमा आइसकेका छन् भने यसै महिनाको अन्तिमदेखि अधिकांश पसलहरू सञ्चालनमा आउने छन् । 

स्वीमिङ पूल र बार

के–के विशेषता छन् १० तल्ले भवनमा ?

चितवनको भरतपुर हाइटमा रहेको ल्याण्डमार्क कम्प्लेक्समा दुई तल्ला अण्डरग्राउण्ड पार्किङ रहनेछ । भुइँतल्लामा विश्वबिख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सोरूम रहनेछन् । मल म्यानेजर उज्ज्वल केसीका अनुसार पहिलो तल्लामा पुरुषका कपडा उपलब्ध हुनेछन् । दोस्रो तल्लामा लेडिज आइटम र बच्चाका लागि स्वदेशी तथा विदेशी ब्राण्डका कपडा उपलब्ध हुनेछन् । 

तेस्रो तल्लामा भने विद्युतीय उपकरणका पसलहरू सञ्चालन हुने बताइएको छ । एउटै भवनमा सबै सामाग्री उपलब्ध हुने केसी बताउँछन् । ‘ग्राहकका लागि च्वाइसको अप्सन त हुन्छ, तर हामी एउटै ब्राण्ड र उस्तै उत्पादनका धेरै पसल राखेर अस्वस्थ्य प्रतिस्पर्धा हुन दिने छैनौं’ केसीले भने । 

चौथो तल्लालाई ‘फूड कोर्ट’को नाम दिइएको छ । चौथो तल्लाको आधा भागमा फूडस्पट र बारको व्यवस्था गरिएको छ । नेपाली मौलिक खानादेखि, चाइनिज, इन्डियन तथा भेज र ननभेज खानाका परिकार यहाँ पाइने छन् । चौथो र पाँचौ तल्लाको आधा भागमा दुईवटा सिनेमा हल राखिएको छ । ‘सिने प्लेक्स’ सिनेमा हल दशैंअगावै सञ्चालनमा आउने तयारी भइरहेको केसीले बताए । 

फूड कोर्ट

पाँचौ तल्लाको आधा भागमा भने सेमिनार हल राखिएको छ । छैठौंदेखि नवौं तल्लासम्म भारतीय फर्न होटलको चेन होटल सञ्चालनमा आएको छ । छैठौं तल्लामा होटलको लबी, रेस्टूरेन्ट तथा स्वीमिङ पूल सहितको बार सञ्चालनमा छ ।

‘मध्यनेपाल भएकाले धेरै संघ–संस्थाका गोष्ठी र सेमिनारका लागि लक्षित गरी सभा हल बनाएका छौं,’ सीजीका असिस्टेन्ट जेनेरल म्यानेजर प्रमोदबाबु तिवारीले भने ।

हरेक दिनजसो सेमिनार र गोष्ठीका कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।

ल्याण्डमार्कका कारण ८० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको तिवारीको दाबी छ ।

सेमिनार हल

छैठौं तल्लामा स्वीमिङ पूल

ल्याण्डमार्क बिल्डिङको छैठौं तल्लादेखि नवौं तल्लासम्म अन्तर्राष्ट्रिय चेन होटल ‘द फर्न रेजिडेन्सी’ होटल सञ्चालनमा आएको छ । चौधरी ग्रुपको लगानीमा भारतको मुम्बइमा रहेको फर्न होटलको चेनको रूपमा यो होटल सञ्चालनमा आएको हो । 

हेटल म्यानेजर सुरज थापाका अनुसार नारायगणढ क्षेत्रमा रहेको एउटा मात्र चेन होटलले स्तरीय सेवा शुरू गरेको छ । ‘रिजनेवल रेटमा बेस्ट क्वालिटी सर्भिस उपलब्ध गराएका छौं,’ उनले भने । 

स्वीमिङ पूल

होटलको छैठौं तल्लामा स्वीमिङ पूल र बार छ । ३ सयदेखि ४ सय जनालाई रुफ टप गार्डेनमा पार्टी गर्न सकिने उनले बताए । ‘भरतपुरको सबैभन्दा अग्लो ठाउँमा बसेर आसपासको दृष्य हेर्दै आराम गर्न सकिन्छ,’ थापा भन्छन्, ‘स्वीमिङ पूलमा बसेर सनराइज र सनसेटको मज्जा लिन सकिन्छ ।’ 

चितवनमा बर्सेनि आउने १ लाख पर्यटकको रोजाइ फर्न पनि हुने उनी बताउँछन् । भरतपुर विमानस्थलबाट ५ मिनेटको दूरीमा रहेकाले पनि यो होटल धेरैको रोजाइमा पर्ने म्यानेजर थापा बताउँछन् । चितवनको मेघौलीमा चौधरी ग्रुपकै व्यवस्थापनमा ‘मेघौली सेराइ’ सफारी रिसोर्ट सञ्चालनमा छ । 

होटलको लबी

‘ल्याण्डमार्क चितवनको गहना’

जेनेरल म्यानेजर प्रमोदबाबु तिवारी ल्याण्डमार्कलाई स्थानीयहरूले चितवनको गहना भन्ने गरेको बताउँछन् । ‘यति व्यवस्थित भवन र शपिङ मल न हिजो बन्यो, न अब तत्कालै अर्को बन्ने सम्भावना छ,’ तिवारीको दाबी छ । सीजीको शपिङ मलमा आएपछि क्वालिटीको सामान र सर्भिस पाइन्छ भन्ने स्थापित गर्न लागेको उनले बताए । 

राजधानी काठमाडौं उपत्यकापछिको विकसित शहर भएका कारण यो क्षेत्रमा व्यवस्थित शपिङ मलको पूर्ति ल्याण्डमार्कले गर्ने तिवारी बताउँछन् । ‘सपिङ गर्नकै लागि काठमाडौं जानुपर्ने अवस्था अन्त्य भएको छ,’ तिवारीले भने । यसअघि ब्रान्डेड कपडा किन्नकै लागि शौखिनहरूले काठमाडौंसम्मको यात्रा गर्ने गरेको तिवारीको अनुभव छ ।

चितवनमा मात्र बैंक तथा वित्तीय संस्थाका १ सय १० वटा शाखा कार्यालय, दुईवटा मेडिकल कलेज, दर्जन बढी स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, विदेशमा पढ्न गएर फर्केका युवा तथा पर्यटकको हब भएकाले मलमा ग्राहकको समस्या नहुने तिवारीको भनाइ छ । 

इलेक्ट्रिक ल्याडर

५१ वटा कार र २ सय ५० भन्दा बढी मोटरसाइकल पार्किङ गर्न सकिने व्यवस्था गरिएको छ । भवनमा ४ वटा लिफ्ट र ८ वटा व्यवस्थित शौचालय छन् । ग्राउण्ड फ्लोरमा अपाङ्गमैत्री शौचालयको समेत व्यवस्था गरिएको छ । २०६८ सालदेखि शुरू भएको शपिङ मल निर्माणमा झण्डै २ अर्ब लगानी भएको व्यवस्थापनले जानकारी दियो ।

salt training

कमेन्ट गर्नुहोस्