
म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा रहेको भीम माविमा पुस्तकालय भवन निर्माण भएको छ । पहार ट्रस नेपालको अनुदान र समुदायको श्रमदान गरी कूल रु १९ लाख लागतमा एककोठे भवन निर्माण भएको हो ।
संस्थाले रु १६ लाख अनुदान उपलब्ध गराएको भवन निर्माणका लागि स्थानीयवासीबाट रु तीन लाख बराबरको श्रमदान भएको शिक्षक यामनाथ पौडेलले जानकारी दिए। संस्थाले एक हजार ४०० थान विभिन्न विधाका पुस्तक पनि उपलब्ध गराएको छ । यसअघि पुस्तकालय स्थापना भए पनि भवन अभावमा व्यवस्थित हुनसकेको थिएन ।
कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा बालकक्षासहित २१५ विद्यार्थी छन् । बेलायती नागरिकहरुले स्थापना गरेको पहार ट्रसको सहयोगमा यसअघि अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविमा आठकोठे भवन निर्माण भएको थियो । भवनको १२ औँ पुस्तकालय दिवसको अवसर पारेर आइतबार वडाध्यक्ष पिपला बुढाले भवनको उद्घाटन गरे। अध्यक्ष बुढाले पुस्तकालयलाई प्रभावकारी र व्यवस्थित गर्न कोषको आवश्यकता औँल्याउँदै त्यसका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए।
विद्यालयलाई दुई लाख ६० हजार सहयोग
म्याग्दीको मङ्गला गाउँपालिका–५ किमचौरमा रहेको विष्णु राष्ट्रिय आधारभूत विद्यालयलाई रु दुई लाख साठी हजार सहयोग प्राप्त भएको छ ।
मङ्गला–५ पिपलबोटका वीरेन्द्र बुढाथोकीले रु दुई लाख, मङ्गला–३ पखेर घर भई हाल बेलायत बस्नुहुने हर्कराज रोकाले रु ५० हजार ५५ र मङ्गला–४ थर्पु घर भई हाल बेलायत बस्नुहुने धनकुमारी छन्त्याल रोकाले रु १० हजार सहयोग गरेका हुन् । विसं २०१७ मा भूपूजिल्ला सभापति रामबहादुर बुढाथोकीको पहलमा स्थापना भएको यो विद्यालयमा कक्षा ८ सम्मको पठनपाठन सञ्चालन गरिएको प्रअ गुप्तबहादुर रोकाले बताए। सहयोगदाता वीरेन्द्र रामबहादुरका छोरा हुन्।
९० विद्यार्थी रहेको यो विद्यालयमा १–५ तहको मात्र दरबन्दी छ । ६ देखि ८ सम्मको कक्षा सञ्चालनका लागि तीन निजी स्रोतका शिक्षक राखिएको छ । निमाविमा एक राहत, प्रावि स्थायी एक, प्रावि राहत दुई र एक करार शिक्षक छन् । तीन शिक्षकको तलबभत्ता चन्दा, देउसीभैलो खेलेर जुटाउने गरिएको व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र फगामीले बताए। प्राप्त सहयोग रकम निजी स्रोतका शिक्षकको तलबभत्तामा परिचालन गरिने विद्यालयले जनाएको छ ।
विसं २०७५ को गाउँपालिकास्तरीय परीक्षामा उत्कृष्ट नतिजा ल्याएको विद्यालयका शिक्षक डिबी घर्तीले बताए। दरबन्दीअनुसार शिक्षकको व्यवस्था भएमा सिकाइ उपलब्धि र गुणस्तर सुधार गर्न सहयोग पुग्ने उनले बताए।