काठमाडौं – नाडा अटो शो २०१९ आईतबार काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको छ ।
भदौ १० गतेबाट शुरू भएको नाडा अटो शोमा करीब ८५ हजार अवलोकनकर्ताले अवलोकन गरेको नाडाले जनाएको छ ।
मेला विगतभन्दा ठूलो स्थानमा, निकै व्यवस्थित, उत्कृष्ट स्टल र लेटेस्ट सवारीसाधनका कारण निकै भव्य भएको जनाइएको छ । मेलाको मुख्य आकर्षणको रुपमा केही नयाँ ब्रान्डका सवारीसाधन र केही ब्रान्डले ल्याएका हाइब्रिड र इलेक्ट्रिक कारमा निकै ठूलो भीड लागेको थियो ।
अटो शो विगतजस्तै यस वर्ष पनि निकै भव्य भएको अवलोकनकर्ताको टिप्पणी रहेको छ । हरेक वर्ष चाडपर्वको नजिकमा आयोजना हुने मेला भदौ १० गतेदेखि सञ्चालन भएकोे थियो ।
यस पटकको अटो शोमा स्टल निर्माणमा सबै कम्पनीले निकै मिहनत गरेको स्टलबाट नै अनुमान गर्न सकिने आयोजकले जनाएको छ । यस पटकको मेलामा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल टोयोटाको लागि नेपालको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिण्डीकेट प्रालिले जितेको छ भने उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल केटियमका लागि नेपालको आधिकारिक बिक्रेता हंशराज एण्ड हुलासचन्द एण्ड कम्पनी प्रालिले जितेको छ ।
बेस्ट सपोर्टिङ स्टलका तर्फबाट टोटल लुव्रिकेण्टसका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी ल्युव आयल प्रालिले जितेको छ ।
नाडाले उत्कृष्ट स्टलहरुको छनोट गर्न नाडाका महासचिव सुनिल रिजाल, पत्रकारका तर्फबाट मेरो अटोका सम्पादक सागर गजुरेल तथा नाडा अटो शोको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको ग्लोवल एक्सपोजिशन एण्ड मेनेजमेण्ट सर्विस प्रालिका प्रबन्ध निर्देशक सन्तोष क्षेत्री समेत सदस्य रहने गरी एउटा छनोट समिति गठन गरेको थियो ।
यस नाडा अटो शोको टाइटल स्पोन्सर सर्वो लुव्रिकण्टसले गरेको थियो । सर्वो लुव्रिकेण्टसले ६ पटक टाइटल स्पोन्सर गरिसकेको छ । यस वर्षको थप आकर्षणमा ओमेगा अटो मोबाइल्सको प्रायोजनमा नाडाले जीपी एक्स जेन्टलमेन २०० सीसी क्षमताको मोटरसाइकल टिकटको लक्की ड्र गरी भाग्यशाली १ जना आगन्तुकलाई उपहार दिने व्यवस्था गरेको थियो ।
नाडाका अनुसार डोरप्राइज पाउने टिकट नम्बर ०१२३३१ रहेको छ । विजेताले आफनो टिकटसहित नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको सचिवालय टेकुमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।
समापन कार्यक्रममा नाडाका अध्यक्ष शम्भुप्रसाद दाहाल, निबर्तमान अध्यक्ष अञ्जन श्रेष्ठ उपाध्यक्षद्धय धु्रववहादुर थापा, कृष्णप्रसाद दुलाल र प्रकाश कपुरी, महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्रकुमार उपे्रती, सह कोषाध्यक्ष विक्रम सिंहानियाले सो अटो शो मा सहभागी ९५ कम्पनीहरुलाई क्रमशः मोमेण्टो समेत वितरण गरेका थिए । नाडाका अनुसार प्रदर्शनीको ट्राफिक व्यवस्थापनको कार्य महानगरिय ट्राफिक प्रहरी महाशाखाले गरेको थियो । प्रदर्शनीको फायर सेफटीको सम्पूर्ण कार्य नाडाकै सदस्य कम्पनी हिटको प्रालिले गरेको थियो । प्रदर्शनीको प्रचारप्रसारको कार्य एभरेस्ट एडले गरेको थियो ।
कार्यक्रममा नाडाका अध्यक्ष शम्भप्रसाद दाहालले नाडा अटो शो २०१९ लाई सफल बनाउन सहयोग पुर्याउने सवै सरोकारवाला कम्पनी र संस्था सबैलाई धन्यवाद दिए । नाडाले नाडा अटो शो २०१९ सम्पन्न गर्न अध्यक्ष दाहालकै अध्यक्षतामा १३ सदस्यीय नाडा अटो शो सल्लाहकार समिति र नाडाका केन्द्रीय कार्य समिति सदस्य निराकार श्रेष्ठको संयोजकत्वमा १४ सदसिय नाडा अटो शो २०१९ व्यवस्थापन समिति समेत गठन गरेको थियो । समापन कार्यक्रमको सञ्चालन नाडाका सचिव तथा प्रचारप्रसार समितिका सभापति अनुप बरालले गरेका थिए ।