०२ असार २०८३, मंगलबार

लाखेनाच संरक्षणका लागि पहल

लाखेनाच संरक्षणका लागि पहल

 दमौली– लोप हुँदै गएको लाखेनाच संरक्षणका लागि तनहुँको भीमाद नगरपालिका–६ स्थित भीष्म नेवार समाजले पहल थालेको छ । नेवार समुदायको मौलिक सांस्कृतिक नाच लाखे संरक्षण गरी भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यसहित समाजले पहल थालेको हो ।

अहिलेको पुस्ताले लाखेनाचको महत्व बिर्सिन थालेपछि समाजले विभिन्न जिल्लाका नेवार समुदायबीच लाखेनाच प्रतियोगिता सम्पन्न गरेको छ । कुनै समय निकै प्रख्यात रहेको लाखेनाच आजभोलि लोप हुँदै गएकाले संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको समाजका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए। अध्यक्ष श्रेष्ठले लाखेनाचको संरक्षण गरी भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने अहिलेको पुस्ताको दायित्व भएको बताए।

प्रतियोगितामा कास्कीको बाल गोपाल सेवा समिति प्रथम हुन सफल भएको छ । प्रतियोगितामा तनहुँको छङ्गेली नेवाःखल दमौली द्वितीय भयो भने कास्कीको देउराली नेवाःखल र भक्तपुरको विश्वकर्मा लाखे समाजले सान्त्वना स्थान हासिल गरेको छ । भेषवूषामा तनहुँको भीमसेन सेवा समाज र अनुशासनमा तनहुँकै नेवार समाज उत्कृष्ट घोषित भए । प्रतियोगितामा प्रथम र द्वितीयले क्रमशः नगद रु ४० हजार र रु २५ हजार प्राप्त गरे भने सान्त्वना हुने दुवै समूहले रु चार/चार हजार प्राप्त गरेका छन् ।

प्रतियोगितामा तनहुँ, कास्की, पाल्पा, स्याङ्जा, काठमाडौँ र भक्तपुरका २५ समूहको सहभागिता रहेको प्रतियोगिताका संयोजक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। विजयी समूहलाई पुरस्कार वितरण गर्दै नेवाः देवदबुका केन्द्रीय अध्यक्ष नरेशमान ताम्राकारले नेवार समुदायको संस्कृति वैज्ञानिकतामा आधारित रहेको बताए। छङ्गेली नेवाःखल दमौलीका अध्यक्ष क्या तारालाल मल्लले लाखेनाच संरक्षणका लागि प्रतियोगिता आयोजना गरिनु सकारात्मक रहेको बताए।

salt training

कमेन्ट गर्नुहोस्