
काठमाडौं – एक वर्षदेखि अमेरिका र चीनले एकअर्काका सामानमाथि अर्बौं डलरको आयातशुल्क लगाइसकेका छन् ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चीनमाथि गलत व्यापारिक गतिविधि सञ्चालन गरेको र बौद्धिक सम्पत्ति चोरेको आरोप लगाइरहन्छन् ।
हालै जी७ देशहरूको सम्मेलनमा उनले भने, ‘विगत केही महिनायता चीनलाई ठूलो झड्का लागेको छ । त्यहाँ तीस लाख रोजगारी गुमिसकेको छ र यो संख्या अझै बढ्नेछ ।’
ट्रम्पले व्यापारयुद्धका विषयमा चीनलाई भएको हानिका विषयमा यसअघि पनि बयान दिने गरेका थिए । अघिल्लो हप्ता पनि उनले भनेका थिए, ‘उनीहरूले एकदमै कम समयमा २५ लाख रोजगारी गुमाइसकेका छन् ।’
ट्रम्पले यो दाबी गर्न हङकङमा सञ्चालित पत्रिका साउथ चाइना मर्निङ पोस्टको जुलाई महिनामा छापिएको लेखलाई आधार बनाएको हुनुपर्छ ।
उक्त लेखमा चीनको लगानी बैंक चाइना इन्टरनेसनल क्यापिटल कोरलाई उद्धृत गर्दै सन् २०१८ को जुलाई र २०१९ को मेका बीचमा उत्पादन क्षेत्रमा व्यापारयुद्धका कारण १९ लाख रोजगारी गुमेको उल्लेख गरिएको थियो ।
यसका बारेमा सोधिँदा ट्रम्पका प्रवक्ताले सीआईसीसी सर्वेमा मे महिनापछिको आँकडा संलग्न नरहेको बताए । त्यतिखेर चिनियाँ सामानमा आयातशुल्क निकै बढाइएको थियो ।
तर २५ वा ३० लाखको आँकडा राष्ट्रपति ट्रम्पलाई कसरी पुर्याइयो भन्ने बारेमा कुनै स्पष्टीकरण दिइएको छैन ।
अमेरिका र चीनबीचको व्यापारयुद्धका कारण चीनमा रोजगारी गुमेको कुनै आधिकारिक आँकडा उपलब्ध छैन । तर चीनका दुई बैंकहरूको आर्थिक सर्वेक्षणले यसबाट औद्योगिक क्षेत्रको १२ लाखदेखि १९ लाख रोजगारीमा असर परेको देखाएको छ ।
आयातशुल्क बढाइँदा चीनको उत्पादन क्षेत्रमा असर परेको छ तर अन्य कारणले पनि जागिर गएका छन् ।
तर अमेरिकी थिंकट्यांकहरू व्यापारयुद्धकै कारण रोजगारी गुमेको हो भन्ने निष्कर्ष निकाल्न नमिल्ने बताउँछन् ।
चीनको उत्पादन क्षेत्रमा रोजगारी पहिलेदेखि नै घटिरहेको छ किनकि चीन अहिले सेवामा आधारित अर्थव्यवस्थातर्फ बढिरहेको छ । आर्थिक तथा प्राविधिक क्षेत्रमा नयाँ जागिरहरू सिर्जना भइरहेका छन् । उक्त परिवर्तन व्यापारयुद्धभन्दा अघि नै शुरू भएको थियो ।
चीनको उत्पादन क्षेत्रले सस्तो श्रम उपलब्ध गराउने देशहरूबाट पनि दबाबको सामना गरिरहेको छ ।
चीन सरकारले शहरी क्षेत्रहरूमा रोजगारी बढाउन बढी ध्यान दिएको छ ।
बेइजिङस्थित दी इकोनोमिस्ट इन्टेलिजेन्स युनिटमा चिनियाँ अर्थतन्त्र विशेषज्ञ ड्यान वाङ भन्छन्, ‘बन्द भएका कलकारखानाको अधिकांश श्रम शहरी सेवाहरूमा उपयोग भएको छ । साथै मानिसहरू समुद्री प्रान्तबाट अनहुई, शिचुआन र हेनान जस्ता भित्री प्रान्तहरूमा फर्किरहेका छन् र त्यहाँ स्थानीय उद्योगमा वृद्धि भएको छ ।’
विश्व बैंकका अनुसार, सन् २०१८ मा चीनमा कुल श्रमशक्ति ७८.८ करोड छ ।
अर्थात् उत्पादन क्षेत्रमा २० लाख रोजगारी गुम्नु भनेको जम्मा ०.२५ प्रतिशत हो ।
सरकारको आधिकारिक आँकडा अनुसार, देशमा ३.८ प्रतिशत मात्र बेरोजगारी छ र त्यो भनेको सन् २००२ पछिको सबभन्दा कम हो ।
तर चीनको कम्युनिस्ट पार्टी नेतृत्वले रोजगारी बजारमा खास ध्यान दिइरहेको बेलामा ट्रम्पको बयान आएको हो ।
जुलाई महिनामा पार्टीको पोलिटब्यूरोले रोजगारी आफ्नो सर्वोच्च प्राथमिकता रहेको बताएको थियो ।
बीबीसीबाट