
बुटवल- बेलायत सरकारको अन्तर्रा्ष्ट्रिय विकास मन्त्रालय (डिएफआईडी) र बुटवल उपमहानगरपालिकाबीच नेपाल सहरी उत्थानशीलता परियोजना सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बुटवलको विकासका लागि महत्वपूर्ण मानिएको उक्त परियोजनामा मंगलबार दुवै पक्षबीच समझदारी भएको हो ।
समझदारीपत्रमा बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालयका स्थायी सचिव म्याथु रिक्रफ्ट र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले हस्ताक्षर गरेका छन् । यो परियोजनाले तीनवटा महत्वपूर्ण क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
बुटवल सहरको सुदृढीकरणका लागि आर्थिक वृद्धिलाई परियोजनाले पहिलो प्राथमिकतामा राखेको छ । त्यस्तै दोस्रो प्राथमिकतामा पूर्वाधार निर्माण र तेस्रो प्राथमिकतामा संस्थागत क्षमता विकासलाई राखिएको छ । परियोजनामा हस्ताक्षरपछि बोल्दै डिएफआईडीका स्थायी सचिव म्याथु रिक्रफ्टले परियोजनाको मुख्य लक्ष्य समृद्ध सहर निर्माणको सपना साकार पार्नु रहेको बताए ।
बुटवललाई उत्थानशील सहर बनाउन प्रभावकारी र सक्षम संस्था पहिलो शर्त भएको भन्दै उनले यसका लागि परियोजनाले काम गर्ने बताए । त्यस्तै वातावरण संरक्षणका लागि हरित क्षेत्र निर्माण, सबैका लागि सेवा प्रवाह, सुरक्षित आवास, खानेपानीको सहज पहुंच, उचित सडक, शिक्षादीक्षाका लागि परियोजना सफल हुने उनले विश्वास व्यक्त गरे ।
त्यस्तै स्थानीय अर्थतन्त्रको समृद्धिका साथै अन्य स्थानीय तह र प्रदेशहरुसंग कनेक्टिभिटीलाई परियोजनाले अगाडि बढाउने उनले बताए । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले संस्थागत क्षमता विकाससँगसँगै बुटवलको आर्थिक समृद्धि र मानवीय तथा भौतिक विकासका लागि यो परियोजना कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
समझदारीपत्रमा हस्ताक्षर गर्न आयोजित समारोहमा डिएफआईडीका स्थायी सचिव रिक्रफ्ट, उपकार्यकारी निर्देशक नथनल बेभवलगायतको टोली सहभागी थियो ।
यो परियोजनाले बुटवल उपमहानगरपालिकाको मानवीय र भौतिक विकासलाई संगसंगै जोडेर लैजान सहयोग पुर्याउने उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले परियोजना सफल रुपमा कार्यान्वयन भए बुटवल आर्थिकरुपले समृद्ध हुने भन्दै यसका लागि निजी क्षेत्रको समेत साथ र सहयोग लिएर अघि बढिने बताए ।