
काठमाडौँ–नागरिकता विधेयक, २०६३ लाई संशोधन गर्ने बनेको विधेयकमाथि परेका संशोधन र समितिमा भएको छलफललाई समेटेर सहमतिको प्रतिवेदन तयार गर्न गठित उपसमितिले दिएको प्रतिवेदनमाथि दफावार छलफल पुनः शुरु भएको छ ।
राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा उक्त प्रतिवेदनमाथि भएको छलफलमा एउटै राजनीतिक दलका सांसदबीच समेत कतिपय विषयमा मत बाझिएका कारण समिति खासै कुनै निष्कर्षमा पुग्न सकेन ।
उपसमितिका संयोजकसमेत रहेका सांसद विजय सुब्बाले बैठकमा भने, “एउटै पार्टीका सांसदबीचमा पनि कहिल्यै सहमतिका लागि भेट नहुने ढङ्गबाट बहस गरिरहेका छौँ, यसलाई सुधार गर्न आवश्यक छ ।”
सांसद झपट रावलले मुलुकको सार्वभौमसँग जोडिएको नागरिकता जस्तो महत्वपूर्ण विषयमा छलफल गरिरहँदा विगतमा ४० लाखभन्दा बढी गैरनेपाली नागरिकलाई वितरण गरिएको भनी प्रश्न उठेको विषयमा छानबिन गर्न तथा प्रदेश मैत्री नागरिकता प्रमाणपत्रको व्यवस्था गर्ने विषयमा ध्यान पु¥याउन सुझाव दिए ।
वंशजका आधारमा प्रदान गरिने नेपाली नागरिकताको प्रमाणपत्रमा किन पतिको नाम राख्ने भनी प्रश्न गर्दै सांसद यशोदा सुवेदीले भनिन्, “पति कुनै पनि महिलाको वंशज होइन, नागरिकतामा श्रीमान्को नाम उल्लेख गर्नुपर्ने प्रावधान राखिनु हुन्न ।”
उनको यस्तो भनाइ आएसँगै नागरिकतामा पतिको नाम उल्लेख गर्ने कि नगर्ने वा के गर्ने भन्ने विषय नै बैठकले लामो समय खर्चियो । बैठकमा महेश्वरजङ्ग गहतराजले भने “नागरिकतामा पतिको नाम राख्नुपर्छ भने लैङ्गिक समानताका लागि श्रीमान्को नागरिकतामा श्रीमतीको नाम पनि उल्लेख हुने व्यवस्था गरौँ ।”
उपसमितिले विवाह वा सम्बन्धविच्छेद भएकी महिलाले थर, वतन वा अन्य विवरण संशोधन गर्न निवेदन दिएमा तोकिएको अधिकारीले आवश्यक कुरा बुझी पहिलो लिएको नागरिकताको प्रमाणपत्र खिची थर, वतन वा विवरण संशोधन गरी अर्काे नागरिकताको प्रमाणपत्र दिन सक्नेछ भन्ने विषयमा सहमति भएको प्रतिवेदन बुझाएको थियो ।
उक्त विषयमा दिनभर छलफल भएर पनि सहमति नजुटेपछि पुनः छलफल गर्ने सहमति भएको थियो । उमेर फरक परेको खण्डमा लिएको एक वर्षभित्र सच्याउन सकिने व्यवस्था रहेको नागरिकतासम्बन्धी विधेयकमा नाम, थरलगायत स–साना गल्ती कमजोरीलाई एक पटक रित पु¥याएर सहजरूपमा सुधार गर्न सकिने प्रावधान राख्न भने सहमति भएको छ ।
बाबुछोराको हत्या
स्याङ्जाको हरिनास–३ ललईमा धारिलो हतियार प्रयोग गरी बाबु र छोराको हत्या भएको छ । हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरका अनुसार मंगलबार बिहान अन्दाजी ४ बजेको समयमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी ३० वर्षीय चित्रबहादुर खड्का र चार वर्षीय रिजन खड्काको हत्या गरेको हो ।
बाबु र छोराको कम्मरभन्दा माथिको भागमा झण्डै आठ÷दश ठाउँमा धारिलो हतियारको चोट रहेको गाउँपालिकाका अध्यक्ष मानन्धरले बताए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी उपरीक्षक राजकुमार लम्साल, प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारी तथा पोखराबाट कुकुरसहित आएको प्रहरी टोलीले घटनास्थलको अनुगमन गरेर फर्किएको गाउँपालिकाका अध्यक्ष मानन्धरले बताउनुभयो ।
दोहोरो अङ्कले बढ्यो नेप्से
धितोपत्र बजारमा आइतबार र सोमबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक मंगलबार भने दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २०.५७ विन्दु अर्थात् १.७६ प्रतिशतले बढेर एक हजार १९०.९० विन्दुमा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक ३.९३ विन्दु अर्थात् १.५३ प्रतिशतले बढेर २६०.२३ विन्दुमा पुगेको छ । नेप्से बढेसँगै कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १७१ कम्पनीको २१ लाख ८४ हजार २७१ कित्ता शेयर रु ५१ करोड पाँच लाख ५२ हजार ४१ मा खरीद–बिक्री भए । बजार सुधार हुँदा १३७ कम्पनीको शेयर मूल्य उकालो लागेको छ भने १९ वटाको घटेको छ, अन्यको भने मूल्य स्थिर छ ।
स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये मंगलबार दुई उपसमूहको मात्रै शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर बढेको छ । अन्य ०.०५ र सामूहिक लगानी कोष ०.०१ विन्दुले घटेको छ । यस्तै बैंकिङ १८.९८, होटल २३.६१, विकास बैंक २१.५९, जलविद्युत् २१.९३, वित्त ६.५७, निर्जीवन बीमा १२३.५३, उत्पादन ४७.९९, लघुवित्त ३३.४३ र जीवन बीमा १४५.५ विन्दुले बढेको छ ।
स्टकका अनुसार कारोवारका आधारमा मंगलबार नेपाल बङ्गलादेश बैंकको संस्थापक शेयर सबैभन्दा बढी मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेको छ । सो बैंकको संस्थापक शेयर रु पाँच करोड ७२ लाख ३० हजारमा कारोवार भयो । यस्तै नेपाल बैंक लिमिटेड रु तीन करोड ३३ लाख ४९ हजार २९४, नेपाल लाइफ इन्सुरेन्स रु दुई करोड २१ लाख ५२ हजार ५४९, एनआइसिएशिया रु दुई करोड १९ लाख ७२ हजार ७६६, सानिमा बैंक रु एक करोड ७० लाख ६ हजार ९५३ र कृषि विकास बैंकको रु एक करोड ५३ लाख ४३ हजार ७५२ बराबरको कारोवार भएका छन् ।
गाईलाई भिरबाट खसालेर मारेका हैनौँ– मेयर राणा
नेपालगञ्ज काञ्जीहाउसबाट दैलेख लैजाने क्रममा सुर्खेतमा गाई मृत्यु भएको विषयमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्सेर राणाले मंगलबार प्रतिक्रिया दिएका छन् ।
नगर प्रमुख राणाले नेपालगञ्ज मंगलबार पत्रकारसँगको छलफलमा भने, “गाईको व्यवस्थापनका लागि धेरै काम गर्दागर्दै यो दुर्घटना भएको हो, यो नियतवश घटाइएको घटना होइन ।”
आफूले नेपालगञ्जको छाडा गाईलगायत पशु चौपाया व्यवस्थापनका लागि बाँके राष्ट्रिय निकुञ्ज, जिल्ला वन डिभिजन कार्यालय, प्रदेश ५ का मुख्यमन्त्रीसँग छलफल गरे पनि सार्थक परिणाम हासिल हुन नसकेको नगर प्रमुख राणाले गुनासो पोखे ।
“हामीले नेपालगञ्जका नागरिकहरूको सहयोगसमेत लिएर गाई व्यवस्थापनमा काम गरेकै थियौँ, तर नगरपालिकाको एक्लो प्रयासले मात्र यो सम्भव नहुने रहेछ”, उनको भनाइ थियो ।
नगरप्रमुख राणाले बर्दियाको बाँसगढी नगरपालिका लगायतका स्थानीय तहले पहाडी जिल्लामा गाई पठाएको थाहा पाएपछि आफुहरूले पनि गाई दैलेख पठाएको बताए ।
“यो गौहत्या नभई दुर्घटना हो, गाई भिरबाट खसालेर मारेको भन्ने प्रचारमा कुनै सत्यता छैन, ट्रकभित्र गाई मरेपछि आत्तिएर सँगै गएका कर्मचारीले छाडेका रहेछन्”, उनको स्पष्टोक्ति थियो ।
छलफलमा सहभागी पत्रकारहरूले अल्पकालीन र दीर्घकालीन योजना बनाएर छाडा गाईलगायत पशु चौपायाको व्यवस्थापन र संरक्षण गर्नुपर्ने सुझाव दिएका थिए ।
मनाइयो ऋषिपञ्चमी
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी मंगलबार नेपाली नारीहरूले सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् ।
महिलाले मंगलबार बिहानै उठेर नजीकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भएको भए मंगलबार ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।
स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरेका छन् । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले मंगलबारको पञ्चमीलाई ऋषि पञ्चमी भनिन्छ ।
रजस्वला भएका बेलामा अरूलाई छोइछाइ गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइछाइ भएमा मंगलबारको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहिआएकाले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताए ।
मंगलबार स्नान गरी पूजामंगलबारा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।
मंगलबार काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजामंगलबाराका लागि श्रद्धालु महिला भक्तजनको भीड लागेको थियो ।
बीस लाख नदिए हत्याको धम्की दिने पक्राउ
एक महिलालाई चिट्ठी दिएर रु २० लाख नदिए छोरीलाई मार्ने र घरमा समेत बम पड्काउने धम्की दिने व्यक्तिलाई प्रहरीले मंगलबार काठमाडौँ बालाजुबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको बेनिघाट–रोराङ गाउँपालिका–५ घर भई नयाँ बजार बस्ने सन्तोष कँडेल रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिए । कँडेलले भदौ १३ गते महिलालाई चिट्ठी पठाएर रु २० लाख माग गरेको र यदि पैसा नदिए छोरीलाई हत्या गर्ने र घरमा समेत बम पड्काउने धम्की दिएको प्रहरीले जनाएको छ ।
मंगलबार भदौ १७ को मिति दिँदै बालाजुको पुल नजीक आएर पैसा दिन चिट्ठीमा भनिएको थियो । सोही सूचनाका आधारमा नक्कली पैसा लिएर गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनले नेत्रविक्रम चन्दको नाम लिएर धम्क्याउँदै आएको खुल्न आएको छ ।
डेङ्गु रोगको निःशुल्क उपचार गर्न निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीसित शुल्क नलिन निर्र्देशन दिएको छ ।
पछिल्लो समय काठमाडौँलगायत देशभर सो रोग प्रकोपका रूपमा नै देखापर्न थालेपछि सरकारको एक मात्र ट्रपिकल तथा सरुवा रोग उपचार गर्ने सो अस्पताललाई मन्त्रालयले मंगलबार सो निर्देशन दिएको हो । अस्पतालका अनुसार अहिले अस्पतालमा २४ जना सो रोगका बिरामी उपचारत छन् ।
गेस्ट हाउसको तेस्रो तलाबाट फाल्ने पक्राउ
नेपाल प्रहरीले कलङ्कीको नारायणी गेस्ट हाउसको तेस्रो तलाबाट सोनाम सुनारलाई फाल्ने तीनजनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सोमबार राति अर्डर गरेको खाना सुनारले पु¥याउन जाँदा खानाको विषयलाई लिएर फाल्ने मकवानपुरका वाइबा लामा, गुल्मीका सविन अर्याल र रामेछापका निशान धमलालाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।
परिसरका प्रवक्ता होविन्द्र बोगटीले खानाकोे विषयमा लिएर झगडा गर्दा सुनारलाई फालेर फरार रहेका पाँचमध्ये तीन जनालाई पक्राउ गरिएको जानकारी दिए । फरार दुई जनाको खोजी भइरहेको बोगटीले बताउनुभयो । गम्भीर घाइते सुनारको उपचारका लागि शहीद मेमोरियल अस्पतालमा उपचारका लागि लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।