२१ जेठ २०८३, बिहीबार

घर निर्माणको रकम नपाउँदा मुक्त हलिया समस्यामा

घर निर्माणको रकम नपाउँदा मुक्त हलिया समस्यामा

कञ्चनपु– पुनःस्थापनमा परेका मुक्त हलिया परिवार घर निर्माणका लागि दोस्रो किस्ताको रकम नपाउँदा मर्कामा परेका छन् । दोस्रो किस्ताको रकम नपाउँदा १५५ ‘क’ श्रेणीको परिचयपत्र पाएका मुक्त हलिया परिवारको घर निर्माणकार्य ठप्प छ ।

घर मर्मतका लागि ‘ख’ श्रेणीका ४२३ र ‘ग’ श्रेणीका १२ परिवारले समेत दोस्रो किस्ताको रकम नपाएको राष्ट्रिय मुक्त हलिया समाजका जिल्ला अध्यक्ष सिवी लुहारले बताए। “पुनःस्थापनाका लागि छनोटमा परेका परिवारले समेत जग्गा खरीद र घर निर्माणका लागि हालसम्म रकम पाउन सकेका छैनन्”, उनले भने।

उनका अनुसार रु आठ करोड ४२ लाख आठ हजार ५०० रकम दोस्रो किस्तावापत मुक्त हलिया परिवारले पाउन बाँकी छ । पुर्नवास नगरपालिका–९ का मुक्त हलिया बलबहादुर चुनाराले दोस्रो किस्ताको रकम नपाउँदा घर निर्माणकार्य पूरा हुन नसकेको बताउनुभयो । आव २०७४÷७५ मै सरकारले सबै मुक्त हलियालाई पुनःस्थापन गरिसक्ने भनेको थियो ।

राष्ट्रिय मुक्त हलिया महासङ्घका अध्यक्ष ईश्वर सुनारले भन्नुभयो, “अझैसम्म पुनःस्थापनकार्य पूरा हुनसकेको छैन, सरकारले निर्धारित समयमै बजेटको व्यवस्था मिलाउन नसक्दा मुक्त हलिया परिवारले कष्टकर जीवन बिताउनुपरेको छ ।” जिल्लामा लगतमा समावेश भएका दुई हजार ५१६ मुक्त हलियामध्ये एक हजार ९९१ ले मात्रै परिचयपत्र पाएका छन् । जसमध्ये एक हजार ८९१ मुक्त हलिया पुनःस्थापनमा परेका छन् भने ५२५ सम्पर्कमा आएका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्