गोरखा, १७ चैत– उचित मूल्य नपाएपछि गोरखा जिल्लाका किसानले यस वर्ष अलैँची बिक्री गर्न सकेका छैनन् ।
गत वर्ष प्रतिकिलो २ हजार ३०० रुपैयाँमा घरबाट बिक्री भए पनि यस वर्ष व्यापारीले भाउ घटाउँदा अलैँची बिक्री हुन नसकेको हो । व्यापारीले यस वर्ष प्रतिकिलो १ हजार रुपैयाँ मूल्य तोकेपछि किसानले अलैँची बिक्री नगरी भण्डारण गरेका छन् ।
गत कात्तिक, मङ्सिरमा नै अलैंँची बिक्री भइसक्नुपर्ने भए पनि अहिलेसम्म उचित मूल्य नपाउँदा बिक्री भएको छैन । अलैंँची बिक्री नभएपछि किसान निराश भएका छन् ।
अजिरकोट गाउँपालिका हंशपुरका किसान शिवप्रसाद अधिकारी एक क्विन्टल अलँैंची उत्पादन भए पनि बिक्री गर्न नपाएको बताउँछन् । ‘अलँैंची बिक्री गर्न ग्राहक खोज्दै छु, अहिलेसम्म भेट्टाएको छैन,’ अधिकारीले भने, ‘गत वर्षसम्म घरमा नै व्यापारी आएर अलैंँची लैजान्थे, यस वर्ष व्यापारी पनि आएनन् ।’
प्रायः झापाका व्यापारीले हंशपुर, खरिबोट, थालाजुङ, मुच्चोकलगायत गाउँमा उत्पादन भएको अलैंँची खरिद गरी बिक्री गर्न भारत लैजाने गरेका थिए । धानखेती मासेर अलैँंचीखेती गर्दै आएका किसान अलैँंचीको मूल्यमा गिरावट आएपछि मारमा परेका छन् । किसानले व्यक्तिगत, समूह र सहकारीमार्फत अलैँंची खेती गर्दै आएका छन् ।
जिल्लामा करिब पाँच सय किसान व्यावसायिक रुपमा अलैँंची खेतीमा संलग्न छन् । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यामकुमार श्रेष्ठ अलैंँचीखेतीका लागि किसानलाई बिरुवा खरिदमा अनुदान दिएको बताउँछन् । गत वर्ष गोरखाका किसानले अलैँची बिक्री गरी करिब रु सात करोड आम्दानी गरेका थिए ।