काठमाडौं – पार्किङको सानो विवाद चर्किंदै गएर रगत बगेको घटना भारतको नोयडामा सार्वजनिक भएको छ ।
एमिटी विश्वविद्यालयमा अघिल्लो बुधवार पार्किङ विवाद हुँदा दुई विद्यार्थी हर्ष यादव र माधव चौधरीले एक युवतीसँग विवाद गरे । त्यसपछि युवतीका साथीहरूले दुवै विद्यार्थीलाई निर्मम तरिकाले कुटपिट गरे । दुवै विद्यार्थी त्यसै विश्वविद्यालयमा राजनीतिशास्त्र अध्ययन गरिरहेका छन् ।
दुई विद्यार्थी दिउँसो २ बजे कार चढेर विश्वविद्यालय आइरहेका थिए । उनीहरू मेन गेटबाट भित्र पस्न लाग्दा त्यहाँ अर्को गाडी रोकिराखेको थियो । गाडीमा दुई युवती बसिरहेका थिए ।
दुवै युवक विद्यार्थीले गार्डसँग त्यो गाडी हटाउन भने पनि युवतीहरूले गाडी हटाएनन् । त्यसपछि दुवैजनाबीच विवाद भयो ।
झगडाको एक घन्टापछि कक्षामा ती युवतीहरू २५ जना युवकलाई लिएर आए । ती युवकहरूले हर्ष र माधवलाई बेस्सरी पिटे । कुर्सी हानाहान समेत भयो ।
केही शिक्षकहरूलाई पनि चोटपटक लागेको थियो । कुटपिट गरेपछि युवकहरू बाहिर निस्किए । हर्ष र माधव प्रहरी आएको छ कि छैन भनी बाहिर निस्कँदा युवकहरूको समूहले उनीहरूलाई घेरेर रड र ढुंगाले हिर्काए । दुवैलाई गम्भीर चोटपटक लागेको छ ।
प्रहरीसमक्ष युवक र युवती दुवै पक्षले एफआईआर दर्ता गराएका छन् ।
एजेन्सी