काठमाडौं – कुनै पनि राष्ट्रको स्थायी मित्र वा शत्रु हुँदैन । स्थायी भनेको केवल स्वार्थ हुन्छ ।
कश्मीरका विषयमा अरब मुलुकहरूको समर्थन नपाएपछि अब पाकिस्तानमा इजरायलसँग निकटता बढाउनुपर्ने विषयमा चर्चा चलेको छ । इजरायलसँग पाकिस्तानको सुमधुर सम्बन्ध छैन ।
अरब देशहरू कश्मीरका विषयमा साथ दिन नआएपछि पाकिस्तानले इजरायलसँग कूटनीतिक सम्बन्ध कायम गर्ने कि नगर्ने भन्ने धर्मसंकटको सामना गर्नुपरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई यूएईले सर्वोच्च नागरिक सम्मान दिएपछि पाकिस्तानभित्र वैश्विक मुस्लिम एकताका विषयमा प्रश्न उठेका छन् ।
गत फेब्रुअरी महिनामा भारतले बालाकोटमा आतंकवादी संगठनहरूविरुद्ध कारवाही गर्दा मुस्लिम देशहरूको सबभन्दा ठूलो मञ्च इस्लामिक सहयोग संगठनले नयाँ दिल्लीलाई गेस्ट अफ अनरका रूपमा आमन्त्रण गरेर पाकिस्तानलाई झड्का दिएको थियो ।
पाकिस्तानी मिडियामा इजरायलका विषयमा चर्चा चलिरहेको छ । पाकिस्तानी पत्रकार कामरान खानले ट्विटरमा सोधे, ‘हामीहरू इजरायलसँग सम्बन्ध कायम गर्दा हुने फाइदा र नोक्सानीका विषयमा किन चर्चा गर्दैनौं ?’
पाकिस्तान दशकौंदेखि यहुदी मुलुक इजरायललाई मान्यता दिन अस्वीकार गरिरहेको छ । इस्लमाबादमा इजरायलको विषय उठाउन वर्जित छ । तर अहिले इजरायलसँग सम्बन्ध कायम गर्ने विषय उठ्न थालेको छ ।
एक्सप्रेस ट्रिब्युन पत्रिकाले एक सम्पादकीयमा लेखेको छ, ‘भारतीय जासूसी संस्था रअले इजरायलको जासूसी संस्था मोसादसँग सन् १९६८ देखि नै सम्बन्ध बनाएको छ तर भारतका मुसलमान रिसाउलान् भने यसलाई सार्वजनिक गरेको छैन । भाजपाले सरकार बनाएदेखि इजरायलसँग सम्बन्ध खुला रूपमा बलियो बनाएको छ । मोदी र नेतान्याहुले एकअर्कालाई अँगालो हालेको तस्वीर प्रकाशित भइरहेको हुन्छ ।’
विश्लेषकहरूका अनुसार, इजरायल र भारतबीचको सम्बन्धले ल्याएको असरलाई कम गर्नका लागि पाकिस्तान अहिले यहुदी देशसँग सम्बन्ध कायम गर्न बाध्य भएको छ ।
मुस्लिम राष्ट्रवादका कारण जन्मिएको पाकिस्तानका पहिलो परराष्ट्रमन्त्री जफरुल्लाह खानले सन् १९४७ को अक्टोबर महिनामा संयुक्त राष्ट्रसंघको महासभामा यहुदी राष्ट्रवादका आधारमा जन्मिएको देश इजरायलको विरोध गरेका थिए । उनले प्यालेस्टाइनमा यहुदी देश बनाउनु भनेको प्रवासीहरू थुपारिएको कृत्रिम राष्ट्र बनाउनु हो भनेका थिए ।
एजेन्सी