
काठमाडौँ - संघीय संसदमा सुर्खेतमा भएको सामूहिक गौहत्याका दोषीहरूलाई कडा कारवाही गर्नुपर्ने माग उठेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डाक्टर डीला संग्रौला पन्तले दुई दर्जन भन्दा बढी गाईहरू भीरबाट खसालेर मारेको घटना अनुसन्धान गर्न सरकारले गठन गरेको समितिले काम गर्न नसकेको भन्दै आलोचना गरेकी हुन् ।
बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै संग्रौलाले भनिन्, 'गाई हाम्रो धार्मिक दृष्टिकोणले पनि महत्त्वपूर्ण छ, वर्षमा एकपटक लक्ष्मी मानेर आमा मानेर पूजा गर्छौं । संरक्षित गाईको हत्या गर्नु भनेको जघन्य अपराध हो । आज सम्म किन कारवाही गरिएको छैन ? यो दुखद पक्ष हो ।'
पशु अधिकारको दृष्टिले पनि कुनै पशुको विनाकारण हत्या गर्न नपाइने भन्दै संग्रौलाले यस्तो घृणित काम गर्नेलाई कडा भन्दा कडा कारवाही गर्न सभामुखमार्फत सरकारलाई आग्रह गरिन् ।
'यो घृणित कार्य हो,' उनले भनिन्, 'सरकारले गठन गरेको छानबिन समिति के गर्दैछ ? थामथुम गर्ने र दोषीलाई कडा कारवाही नगर्ने हो भने अर्को धार्मिक आन्दोलन उठ्न सक्छ । सरकारले बेलैमा सोच्नुपर्छ ।'