
पर्सा– विरगंज महानगरपालिका-१६ ईनर्वा बस्ने सत्यराज योगी उपनाम भएका २६ वर्षीय सन्तोष दास तत्मालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले योगीको साथबाट १ थान म्याग्जीन सहितको पेस्तोल , १७ राउण्ड गोली र अन्दाजी १ सय ७० ग्राम सेतो प्लाष्टिकमा रहेको खैरो रंगको धुलो जस्तो पदार्थ समेत बरामद गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा पैदल आउँदै गरेका तत्माले प्रहरीलाई हतियार देखाई ताक्दै भाग्न लागेपछि प्रहरीले नियन्त्रणमा लिन जवाफी कारवाहीको क्रममा गोली प्रहार गरेकाे थियो । तत्माको दाहिने घुँडामा गोली लागी घाइते भएका थिए । घाइते तत्मालाई तत्कालै उपचारको लागि नारायणी अस्पताल लगिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
योगी यसअघि आर्थिक वर्ष २०६४/०६५ मा हातहतियार मुद्दामा पुर्पक्षको लागि जेल चलान भएको तथा आर्थिक वर्ष २०६६/०६७ मा पशुपती रोड कैरियर ट्रान्सपोर्टमा काम गर्ने राजेश्वर दुवेलाई गोली प्रहार गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा ८ वर्ष ५ महिना १० दिन कैद सजाय भुक्तान गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।