
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बा’ भन्दै कार्यकारी जिम्मेवारीबाट विश्राम लिन सुझाव दिएका छन् ।
बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले प्रधानमन्त्री जस्तो जिम्मेवारी बोकेको मान्छे लामो समय विदेश उपचार गराउन गइरहनु ठीक नभएको टिप्पणी गरे ।
थापाले गरेको सम्बोधनको अंश :-
प्रधानमन्त्री उपचारको क्रममा सिंगापुरमा हुनुहुन्छ, हामीले उहाँको स्वास्थ्यलाभको कामना गर्न चाहन्छौं ।
हामीले कुनै कानून बनायौं कुनै पनि नेताले विदेशमा उपचार गर्दा सोका लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध हुने छैन, यो कानूनको पालना गर्नुभएकोमा प्रधानमन्त्रीप्रति हार्दिक आभार प्रकट गर्दछौं । नागरिकको यस किसिमको चासोलाई प्रधानमन्त्रीले उपयुक्त समयमा बताउनुहुनेछ भन्ने आशा पनि प्रकट गर्न चाहन्छु ।
प्रधानमन्त्रीको उपचारको बारेमा यथार्थ जानकारी सरकारले संसदलाई गराएको छैन । जनताले आफ्नो प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा जान्न पाउनुपर्छ ।
प्रधानमन्त्रीको निजी चिकित्सकलाई उदृत गरेर छापाहरूमा आएको सीमित सूचनाका आधारमा यो अनुमान लगाउन सकिन्छ कि प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख छ ।
मृगौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्रीको इच्छाशक्ति र क्रियाशीलता संसारका लागि नमूना बनोस् तर केही चिकित्सकले गरेको अनुमान अनुसार प्रधानमन्त्री पटक–पटक विदेश गएर केही समय विश्राम गरेर उपचार गराइरहनुपर्ने भयो भने के गर्ने ?
संविधानको धारा ७५ अनुसार नेपालको कार्यकारी अधिकार मन्त्रिपरिषद्मा निहीत छ र मन्त्रिपरिषदको प्रमुख प्रधानमन्त्री हुनुहुन्छ ।
संसदीय पद्धतिमा संसदको कामको सिर्जना पनि प्रधानमन्त्रीबाटै हुन्छ । प्रधानमन्त्री सेरेमोनियल पोजिसन होइन । डे टू डे जिम्मेवारी प्रधानमन्त्रीले निर्वाह गर्नुपर्छ । पछिल्ला दिनमा प्रधानमन्त्रीको कार्यबोझ बढाइएको छ । हाम्रो प्रधानमन्त्रीले यी सबै गर्ने कुराको इच्छाशक्ति राख्नुहुन्छ भन्ने कुरामा दुईमत छैन । तर इच्छाशक्ति मात्र सबै कुरा होइन सभामुख महोदय । शारीरिक स्वास्थ्यले पनि धेरै कुराहरू निर्धारण गर्छ ।
प्रधानमन्त्री राष्ट्रिय सुरक्षा, अखण्डता र सार्वभौमसत्ताको रखवाला हुनुहुन्छ । कार्यकारी प्रमुख एकैपटक लामो समयसम्म देशबाहिर बस्दा एकातिर राष्ट्रिय सुरक्षा र कूटनीतिक मर्यादा आदि कुरामा जोखिमको प्रश्न त छँदैछ, प्रत्येक २–३ महिनामा १०/१२ दिन विदेश गएर टेलिप्रिजेन्समार्फत मन्त्रीहरूको ब्रीफिङ लिएर देश चलाउने कुराबाट शासकीय जिम्मेवारी पूरा हुन सक्दैन ।
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था भएको भए फेरि निर्वाचनमा जानुपर्ने व्यवस्था आउँछ भनेर कष्ट दिएर भएपनि प्रधानमन्त्रीको निरन्तरताको अपेक्षा राख्नु स्वाभाविक हुने थियो । तर यहाँ यस्तो अवस्था छैन सभामुख महोदय । यहाँ नेपाल कम्युनिस्ट पार्टीको बहुमत छ । सजिलैसँग नयाँ प्रधानमन्त्री छान्न सक्छ । एकसे एक प्रधानमन्त्री भएको व्यक्ति यो पार्टीमा हुनुहुन्छ । प्रधानमन्त्री हुने इच्छा राख्ने व्यक्ति हुनुहुन्छ ।
यस्तो अवस्थामा हामी विश्राम दिन किन चाहिरहेका छैनौं । मैले धेरैपटक नेपाल कम्युनिस्ट पार्टीका युवा सांसदहरूले प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गरेको सुनेको छु । प्रधानमन्त्री हाम्रो पनि बासरह हुनुहुन्छ । हामी हाम्रो बा बिरामी हुनुभएको भए के भन्थ्यौं ? ‘बा धपेडी नगर्नुस्, बा आराम गर्नुस्, बा बिश्राम लिनुस् ।’ हामीले हाम्रो बालाई यति भन्न सक्छौं भने प्रधानमन्त्रीलाई किन भन्न सक्दैनौं ।
यो अन्याय हिजो हामीले पनि गर्यौं । यो गल्ती तपाईंहरू नदोहोर्याउनुस् । प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुस् । किनकि नेपालको प्रजातान्त्रिक आन्दोलनमा यत्रो ठूलो योगदान पुर्याउनुभएको, नेपालको शान्ति प्रक्रियामा यत्रो ठूलो योगदान पुर्याउनुभएको, यत्रो ठूलो राष्ट्रिय जिम्मेवारी निर्वाह गर्नुभएको ।
स्वाभिमानको लडाइमा अथक खट्नुभएको हाम्रो सम्माननीय प्रधानमन्त्रीलाई हाम्रोबीचमा अभिभावकका रूपमा देख्न चाहन्छौं तर यो कुरा त्यतिखेर मात्र सम्भव छ, शरीर सबैको शरीर हो, मन पनि सबैको मन हो ।