१६ असार २०८३, मंगलबार

प्रभावकारी ढंगले संघीयता कार्यान्वयन भइरहेको छ : अर्थमन्त्री खतिवडा

प्रभावकारी ढंगले संघीयता कार्यान्वयन भइरहेको छ : अर्थमन्त्री खतिवडा
फाइल फोटो

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडासँग नेपालको भ्रमणमा रहेका अन्तर्राष्ट्रिय विकासका लागि बेलायतको सहयोग नियोग (डिएफआइडी)का स्थायी सचिव म्याथ्यु जन रेक्रफ्टले आज अर्थमन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा उनीहरूबीच २०३ वर्ष पुरानो नेपाल–बेलायत कूटनीतिक सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । 

वित्तीय सङ्घीयता कार्यान्वयन शीघ्र र प्रभावकारी ढङ्गले भइरहेको, सङ्घीयतासम्बन्धी संस्थागत व्यवस्था तथा अन्य अधिकार र कर्तव्यको बाँडफाँट पनि सहज रूपमा भइरहेको जानकारी दिँदै अर्थमन्त्रीले स्थानीय तहमा न्यायिक पद्धतिमा क्षमता विकासको अभावलाई सुधार गर्न सरकारको  विशेष जोड दिएको बताए ।

उनले क्षमता विकासको सन्दर्भमा प्रदेश तथा स्थानीय तह नयाँ सन्दर्भ र सिकाइकै चरणमा रहेकाले सुशासन र न्यायिक पद्धतिमा क्षमता विकास गर्न आवश्यक भएको बताए ।

अर्थमन्त्रीले मुलुक एकात्मक शासन व्यवस्थाबाट सङ्घात्मक पद्धतिमा रुपान्तरण भएकाले साधन स्रोतको विभाजन, अधिकार र कर्तव्य सन्तुलित रुपमा व्यवस्थापन गरी कार्यान्वयनको चरणमा प्रवेश गरेको जानकारी दिए । 

स्थायी सचिव रेक्रफ्टले नेपाल सरकारले संविधान निर्माणसँगै सङ्घीय संरचानमा सबै तहको निर्वाचन गरी विवादरहित रुपमा सङ्घीयताको अभ्यास हुनु सुखद् भएको भन्दै सङ्घीयता कार्यान्वयनको सफलताको कामना गरे ।
 
नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न चाहेको भन्दै सङ्घीयता कार्यान्वयनका लागि तयार भएका कानून तथा नीतिहरुको प्रभावकारी रूपमा व्यावहारिक कार्यान्वयनका चरणमा देखापर्न सक्ने समस्याहरूलाई बेलायत सरकार सघाउन तयार रहेको उनले बताए ।

नेपाल र बेलायत सरकारबीच दोहोरो कर उन्मुक्ति सम्झौता प्रक्रियालाई  अगाडि बढाइने जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्