काठमाडौं, १७ चैत — नवनियुक्त भारतीय राजदूत मन्जिभ सिंह पुरीको सक्रियता बडो अचम्मको देखिएको छ । शुक्रवार मात्र नेपाल आएर आइतवार राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका राजदूत पुरीले एक हप्ताको समयमा नेपालका सबै ‘भीआईपी’ नेतासँग भेटवार्ता गरिसकेका छन् ।
बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्नुअघि राजदूत पुरीले प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली, संसद्को प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासम्मलाई भेट्न भ्याइसके । सामान्यतया नयाँ राजदूतले प्रधानमन्त्रीलाई भेटेर अन्य नेतासँग भेटवार्ता गर्ने प्रचलन थियो ।
तर यरपटक विपक्षी दलको नेतालाई पहिला र प्रधानमन्त्रीलाई पछि भेटे भारतीय राजदूतले । संयोग त्यस्तै परिदियो । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा थिए ।
भारतसँगको सम्बन्ध चिसिएको भनेर प्रचारित नेकपा एमालेका अध्यक्ष ओलीसँग राजदूत पुरीले हँसिलो मुद्रामा लामो भेट गरे ।
राजदूतको हँसिलो मुद्रा
प्रचण्ड वा ओली जोसँग भेट्दा पनि नवनियुक्त भारतीय राजदूत पुरी हँसिलो मुद्रामा देखिएका छन् । हँसिलो मुद्रामा देखिएका भारतीय राजदूतको पहिलो हप्ताको अतिरिक्त सक्रियताले कार्यकाल सफल बनाउने हतारो देखिने टिप्पणी कूटनीतिक वृत्तमा हुन थालेको छ । प्रचण्डले त राजदूतलाई सुखद बसाईंको शुभकामना नै दिइसकेका छन् ।

प्रमुख दलका शीर्ष नेतालाई भारतीय राजदूतले भेट्ने कुरा सामान्य नै भयो । तर सरकारका हरेक मन्त्रीलाई मन्त्रालयमै गएर भेट्ने भारतीय राजदूतको अतिरिक्त सक्रियाताप्रति सिंहदरबारमा टिप्पणी सुन्न थालिएको छ ।
कुनै पनि देशका राजदूतले नेपालका प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलका नेताहरूलाई भेट्दा परराष्ट्र मन्त्रालयको अनुमति लिनुपर्ने कूटनीतिक आचारसंहिता लागू गरेपनि राजदूतहरूले उल्लंघन गर्दै आएका छन् ।
राजदूत पुरीले मंगलवार उपप्रधानमन्त्रीद्वय कमल थापा र विमलेन्द्र निधिलाई भेटेका थिए । बुधवार भौतिक योजना तथा निर्माणमन्त्री रमेश लेखक र रक्षामन्त्री बालकृष्ण खाँडलाई उनले भेट गरे ।

बिहीवार प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका राजदूत पुरीले परराष्ट्रमन्त्री प्रकाशशरण महत र ऊर्जामन्त्री जनार्दन शर्मालाई भेटेका छन् । मन्त्री लेखकसँग रेल र सडक सञ्जाल, ऊर्जामन्त्री शर्मासँग विद्युत् व्यापार लगायतको विषयमा छलफल भएको मन्त्रीका सहयोगीहरू बताउँछन् ।
भारतीय हस्तक्षेप ‘अनुमोदन’
त्रिविमा राजनीतिशास्त्रका सहप्राध्यापक दीपक गजुरेल नेपालमा भारतीय राजदूतको अतिरिक्त सक्रियता कूटनीतिक रूपमा आपत्तिपूर्ण हुने भएपनि नेपालका दलहरूले यो अनुमोदन गरिसकेको बताउँछन् । भारतीय राजदूतले मन्त्रीहरूलाई एक्लाएक्लै भेट्ने कुरा आपत्तिपूर्ण भएको उनको ठम्याइ छ ।

‘हाम्रो देशका नेताको दासप्रवृत्तिले राष्ट्रलाई नोक्सान पु–याइरहेको छ, नेपालका शासक भारतीयको निर्देशनमा हिँड्छन् भन्ने अर्थ विश्व समुदायमा फैलिएको छ,’ गजुरेल भन्छन् ।
चीनलाई सांकेतिक जवाफ दिन पनि भारतीय राजदूले अतिरिक्त सक्रियता देखाएको हुनसक्ने गजुरेलको विश्लेषण छ । चिनियाँ पत्रिका ग्लोबल टाइम्समा भारतीयको निर्देशनमा नेपालका शासक हिँड्छन भन्ने आशयको समाचार प्रकाशित भएको स्मरण गर्दै गजुरेलले भने, ‘आफूलाई भारतीय नजिक देखाउने नेताहरूको होडबाजीका कारण राजदूतले सीमा नाघ्छन् ।’

नेपालका राजदूतले भारतमा मन्त्रीहरूलाई यसरी भेट्दै हिँड्न पाउँदैनन् । ‘कुनै कार्यक्रम वा आयोजनाको उद्घाटनमा राजदूतले मन्त्री भेट्नु स्वाभाविक मानिएला, सबै उपस्थित छन् भने भेट्नु एउटा कुरा, त्यस्तोमा पनि वान टु वान मन्त्री भेट्न मिल्दैन, मन्त्रालय धाउँदै भेट्नु त आपत्तिपूर्ण कुरा हो,’ गजुरेल भन्छन् ।
परराष्ट्र मामिलाका जानकारहरूको भनाइमा नेपालमा आउने भारतीय राजदूत शुरुका दिनमा नेपालमैत्री देखिएपनि केही समयमै नेपालप्रति मिचाहा व्यवहार देखाउन थाल्छन् ।
साउथ ब्लकभन्दा लैनचौरको सक्रियतासंसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिका पूर्वसभापति पद्मलाल विश्वकर्मा नेपालस्थित भारतीय दूतावास र राजदूतको सक्रियता चाहिनेभन्दा बढी हुने गरेको बताउँछन् ।
‘कन्चनपुरमा गोविन्द गौतमको हत्याको समयमा पनि नेपालस्थित भारतीय दूतावासले गोली चलेको छैन भन्ने प्रतिक्रिया दियो, पछि नेपालका गृहमन्त्री भारत जाँदा छानबिन गर्छौं भन्ने कुरा ग¥यो,’ पूर्वसभापति विश्वकर्मा भन्छन्, ‘दिल्लीको साउथ ब्लकभन्दा छिटो प्रतिक्रिया दिने र चाहिने भन्दा बढी सक्रियता देखाउने त्यो घटनाले सिद्ध गर्छ ।’

संसदीय समिति सीमा क्षेत्रको स्थलगत निरीक्षणमा गएको समयमा पनि फोन गरेर दूतावासले अनावश्यक चासो राख्ने गरेको विश्वकर्माको स्मरण छ । ‘उनीहरूले नेपाललाई आफ्नो मौजा र किपट जस्तै व्यवहार गर्छन् । यो रवैया कूटनीतिक मर्यादा अन्तर्गत पर्दैन । यस्तो व्यवहार रोक्न नेपाल सरकारले पनि कदम चाल्नुपर्छ ।’

