
सोमबार २०७६ भदौ २४ गते मंगलबार । बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रम यहाँ प्रस्तुत गरिएको छ ः
फैलिँदै डेंगु
डेंगुको संक्रमण भयाभय बन्दै गएको छ । । गत वैशाख अन्तिम सातादेखि सुनसरीको धरानमा पहिलो पटक देखिएको डेंगुको संक्रमण अहिलेसम्म ५६ जिल्लामा फैलिसकेकोस्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिलेसम्म प्रदेश १ को ९ , प्रदेश २ को ७, प्रदेश ३ को १२, गण्डकी प्रदेशको १०, प्रदेश ५ को ११, कर्णाली प्रदेशको २ र सुदूरपश्चिम प्रदेशको ५ जिल्ला गरी देशभर ५६ जिल्लामा डेंङ्गुको संक्रमण फैलिएको हो ।
अहिले सम्म डेंगुको संक्रमणबाट ६ जनाको मृत्यु भएको पनिल महाशाखाले जनाएको छ । मृत्यु हुने मध्ये काठमाडौँमा २ र सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा एक—एक जना रहेका छन् ।
साउन १ गते देखि भदौ २२ गते सम्म ३ हजार ८ सय ९९ जना डेंगुको नयाँ बिरामी थपिएको महाशाखाले जनाएको छ ।
थपिएको यो संख्या सँगै वैशाखदेखि यता बिरामीको संख्या ७ हजार नाघेको जनाइएको छ ।
प्रदेश ३ मा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ भने साउनदेखि यता २ हजार १० जना नयाँ बिरामी थपिएका छन् । यस्तै साउनदेखि यता प्रदेश१ मा ८३१, प्रदेश २ मा ३९, गण्डकी प्रदेशमा ८९६, प्रदेश ५ मा ९७, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा २३ मा डेंगुको संक्रमण देखिएको छ ।
डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ । वर्षाको समय सुरुभएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्दछ ।
ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबरहरु आउने, अरुचि हुने, जोर्नी तथा मांसपेशीहरु बेस्सरी दुख्ने, रातो बिबिरा देखिनु डेंगुका लक्षणहरु हुन् ।
डेंगुबाट बच्ने भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै प्रमुख उपाय हो । त्यसका लागि घरवरिपरि सरसफाइमा ज्यान दिने, शरीर ढाक्ने कपडा लगाउने, झूलभित्र सुत्ने गर्नुपर्छ । यदि डेंगु संक्रमणको आशंका भए तुरुन्त स्वास्थ्य संस्थामा परीक्षणका लागि पुग्नुपर्छ ।
नेपाल–चीनबीच तीन सहमति
नेपाल र चीनबीच पारस्परिक सहकार्य एवं साझेदारीका तीनवटा सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा सोमबार राजधानीमा सम्पन्न द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्तापछि दुई देशबीच दुई वटा ‘लेटर अफ् एक्सचेञ्ज’ र एउटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
चीनका विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थितिमा अर्थसचिव राजन खनाल र चिनियाँ अन्तरराष्ट्रिय विकास सहायता नियोग (सिआइसिडीए) का उपाध्यक्ष डेङ बोकिङले आपत्कालीन आवास तथा मनाङ अस्पताल पुनःनिर्माण परियोजनासम्बन्धी ‘लेटर अफ् एक्सचेञ्ज’मा हस्ताक्षर गरे ।
आपत्कालीन आवास सहायताअन्तर्गत ९५ लाख चिनियाँ युआन बराबरका पाँच हजार त्रिपाल चीन सरकारले उपलब्ध गराउनेछ भने मनाङ अस्पताल पुनःनिर्माणका निम्ति दुई करोड २० लाख युआन प्रदान गर्नेछ ।
त्यसैगरी स्वयंसेवक चिनियाँ शिक्षक कार्यक्रमसम्बन्धी समझदारीपत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश्वर दाहाल र नेपालका लागि चीनका राजदूत हउ यान्छीले हस्ताक्षर गरे ।
वार्तामा नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचार–विमर्श भएको थियो । परराष्ट्रमन्त्रीद्वय ज्ञवाली र वाङले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।
त्यसैगरी वार्तामा दुई देशबीच विगतमा भएका सन्धि सम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको समीक्षाका साथै तिनको द्रुत कार्यान्वयनमा जोड दिइएको थियो । चिनियाँ पक्षले त्यसलाई सकारात्मक रुपमा लिएको वार्तामा सहभागी एक अधिकारीले बताए ।
नेपालको विकासको भरपर्दो साझेदार चीनले हासिल गरेको भौतिक एवं आर्थिक विकासबाट नेपाल कसरी लाभान्वित हुनसक्छ भन्ने विषयका साथै द्विपक्षीय हित, क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका मामिलामा पनि द्विपक्षीय वार्तामा गहन छलफल भएको थियो ।
चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएको समझदारीका साथै परस्परमा सम्पर्क विस्तार र दुई देशबीच भएको यातायात तथा पारवहन सम्झौता तथा नेपालको व्यापार विविधीकरण, व्यापारघाटा घटाउन चिनियाँ सहयोगलगायत विषयमा दुवै देशका मन्त्रीले विचार आदानप्रदान गरेका थिए ।
वार्तामा अर्थमन्त्री युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, सचिव शङ्करदास वैरागी, अर्थ सचिव खनाल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव दाहाल, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायत वरिष्ठ अधिकारी सहभागी थिए ।
विदेशमन्त्री वाङ नेतृत्वको टोलीमा विदेश सचिव लु झाउबी, नेपालका लागि चिनियाँ राजदुत हउ यान्छी, चिनियाँ अन्तरराष्ट्रिय विकास सहायता नियोग (सिआइसिडीए) का उपाध्यक्ष डेङ बोकिङ, विदेश मन्त्रालयको एशिया विभागका प्रमुख तथा अन्य अधिकारीसहित काठमाडौँस्थित चिनियाँ दूतावासका उच्च अधिकृत वार्तामा सहभागी थिए ।
यसैगरी चिनियाँ विदेशमन्त्री वाङले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।
वाङको सम्मानमा परराष्ट्रमन्त्रीले सोमबार नै रात्रिभोजको पनि आयोजना गरेका छन् । नेपाल भ्रमणको सिलसिलामा वाङ आइतबार नेपाल आइपुगेका हुन् ।
पेट्रोलियम पाइपलाईनको मङ्गलबार उद्घाटन
दक्षिण एशियाको पहिलो क्रस बोर्डरका रुपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सम्पूर्ण तयारी पूरा भएपछि मङ्गलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्दैछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित कार्यालयबाट संयुक्तरुपमा स्वीच थिची सो पाइपलाईनको दिउँसो १२.१५ मा उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।
गोइतले भने “नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले इलेक्ट्रिक स्वीच थिची उद्घाटन गरेपछि तत्काल पाइपमार्फत डिजेल आउन शुरु हुनेछ ।” उक्त उद्घाटनको दृष्य नेपाल आयल निगमको अमलेखगञ्ज डिपो र भारतीय आयल निगम कर्पाेरेशनको मोतिहारी डिपोबाट प्रत्यक्षरुपमा हेर्नसक्ने व्यवस्था स्क्रिनमा गरिएको बताइएको छ ।
उद्घाटन पश्चात तत्काल बरौनी डिपोबाट डिजेल आउने छ । विसं २०६१ मा नेपाल र भारतबीच भएको सम्झौतानुसार सो पाइपलाइन निर्माण भएको हो । विसं २०७४ चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरुपमा स्वीच थिचेर मोतिहारी अमलेखगञ्ज पाइपलाइनको निर्माणको शिलान्यास गर्नुभएको पाइपलाइन परियोजना कार्यालय सिमराले जनाएको छ ।
शुरुमा पाइपलाइनबाट साढे छ सय किलोलिटर पानी र एक हजार किलोलिटर डिजेल पठाएर परीक्षण गरिएको थियो । परीक्षणका क्रममा पटनाबाट अमलेखगञ्जसम्म डिजल आइपुग्न करीब १८ घण्टा लागेको बताइएको छ । पेट्रोलियम पदार्थ भारतको बरौनीदेखि बिहारको राजधानी पटना, मोतिहारी र अमलेखगञ्जसम्मको भू–भागबाट आएको डिजेलको शुद्धतासमेत परीक्षण भइसकेको छ । नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनको संयुक्तलागत करीब रु ७५ करोड लगानी रहेको छ ।
सोमा भारत सरकारको रु चार अर्ब ४० करोडको आर्थिक सहयोगमा निर्माण भएको पाइपलाइनको कूल लम्वाई ७० किलोमिटर रहेको र पाइपलाइन भारततर्फ ३२.५ किलोमिटर तथा नेपालतर्फ ३७.५ किलोमिटर लम्वाई रहेको छ । पाइपलाइनबाट प्रतिघण्टा दुई सय किलोलिटर पेट्रोलियम पदार्थ आउने छ ।
नेपाल आयल निगमको अमलेगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्याङ्की निर्माण गरिएको छ । पाइपलाइन सञ्चालनमा आएपछि अब वार्षिक रु दुई अर्ब बचत हुने बताइएको छ । यसबाट पर्यावरण विनाश, राजमार्गमा हुने ट्राफिक जाम, दुर्घटना, ढुवानी गर्दा पेट्रोल पर्दाथमा हुने चुहावटलगायतका समस्या समाधान हुने विश्वास लिइएको छ ।
विमानस्थलबाट सुनसहित पक्राउ
नेपाल प्रहरीले एक किलो ४०० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा गार्ड र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले तनहुँका ५० वर्षीय होमबहादुर गुरुङसहित तीन जनालाई सोमबार बिहान पक्राउ गरेको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले विमानस्थलको आगमन कक्षबाट कतारबाट आएका गुरुङलाई एक किलो ४०० ग्राम सुनसहित बिहान पक्राउ गरिएको जानकारी दिए ।
गुरुङ हिमालय एयरलाइन्सको उडान नं एच ९५६४ मार्फत नेपाल आएका थिए । प्रहरीले गुरुङलाई विमानस्थलमा लिन पुगेका अन्य दुई जनालाईसमेत पक्राउ गरेको छ । पछि पक्राउ परेका व्यक्तिको परिचय भने खुलाइएको छैन । घटनाबारे आवश्यक अनुुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सहुलियत बजार सञ्चालनमा
सरकारले सोमबारदेखि दशैँतिहार तथा छठका लागि एकीकृत सहुलियत मूल्य पसल सञ्चालन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सिंहदरबार अगाडिको नेशनल ट्रेडिङ लिमिटेडको प्रथम दिवसको शुभारम्भ गरे ।
अझै खुलेन दशैँको अग्रीम टिकट
दशैँलाई लक्षित गरेर सार्वजनिक यातायातको अग्रीम टिकट बुकिङ खोल्ने तयारी अहिलेसम्म शुरु भएको देखिएको छैन ।
अघिल्ला वर्षमा दशैँ शुरु हुनुभन्दा एक महीना पहिले नै यातायातको अग्रीम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष घटस्थापना शुरु हुन २० दिन मात्रै बाँकी हुँदा खुल्ने तयारी देखिएको छैन ।
विगत वर्षमा दशैँको समयमा भाडा वृद्धि नगरी टिकट नखोल्ने व्यवसायी अडिग रहेका थिए भने यो वर्ष पनि विभिन्न बहानामा समयमा टिकट नपाउने हो कि भन्ने चिन्ता यात्रुमा छ ।
पहिलोपटक चल्यो बिजुली बस
नेपालमै पहिलो पटक विद्युतीय बससेवा सोमबारदेखि सञ्चालनमा आएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार सुन्दर यातायात प्रालिले भित्र्याइएका दुई विद्युतीय बसको उद्घाटन गरे ।
रु एक करोड ६२ लाख मूल्यका सो बसमा ६० सिट रहेको बताइएको छ । कम्पनीले अहिले चक्रपथमा बस सञ्चालनका लागि अनुमति लिएको छ । बस सञ्चालनका लागि कम्पनीले गत साता नै ‘चार्जिङ स्टेशन’ को उद्घाटन गरिसकेको छ । विद्युतीय बसका लागि छुट्टै भाडादर नतोकिएकाले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनकै भाडादर लागू हुने बताइएको छ । विद्युतीय कार्डको प्रयोगमा भने २० प्रतिशत छुट हुनेछ ।
काङ्ग्रेसको जागरण अभियान
नेपाली काङ्ग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरणमा मंगलबार विभिन्न जिल्लाका कार्यक्रममा पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएकाछन् ।
जननायक बिपी कोइरालाको १०६औँ जन्म जयन्तीका दिन पारेर प्रारम्भ हुने दोस्रो चरणको अभियानको उद्घाटनमा काङ्ग्रेसका केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । जसअनुसार सुनसरीमा सभापति शेरबहादुर देउवा, कास्कीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, धनुषामा उपसभापति विमलेन्द्र निधि, सुनसरीमा उपसभापति विजयकुमार गच्छदार, मकवानपुरमा महामन्त्री डा शशांक कोइराला, भक्तपुरमा महामन्त्री पूर्णबहादुर खड्का तथा काठमाडौँंमा कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा प्रकाशशरण महतले सम्बोधन गर्नेछन् ।
जागरण अभियानको दोस्रो चरण देशव्यापी रूपमा एकसाथ प्रारम्भ हुँदैछ । बिपी कोइरालाको १०६औँ जन्म जयन्तीको प्रतिक स्वरुप त्यतिनै विरुवा हरेक प्रदेशसभा क्षेत्रमा (जम्मा ३४ हजार ९८०) देशभरि रोपेर अभियान उद्घाटन हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
पानीमा डुबेर दुईको मृत्यु
अभिभावकको बेवास्ताले महोत्तरीमा पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । घरबाट निस्केका आफ्ना छोराछोरीको अभिभावकले राम्रोसँग हेरविचार नगर्दा पोखरीमा डुबेर ती दुई बालकको मृत्यु भएको हो ।
जिल्लाको जलेश्वर नगरपालिका–३ मलिवाराका १२ वर्षीय रोहित साह र बलवा नगरपालिका–७ का चार वर्षीय रुपेश महराको आफ्नै बस्तीको पोखरीमा नुहाउँदै गर्दा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पोखरीमा नुहाउने क्रममा अचानक चिप्लिएर गहिरो ठाउँमा पुग्दा डुबेर दुवै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।