काठमाडौं, १८ चैत– संसदमा दर्ता भएर पनि अगाडि बढ्न नसकेको संविधान संशोधन प्रस्तावबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (शुक्रबार) दिउँसो प्रमुख सत्तासाझेदार दल र मधेसी मोर्चाको संयुक्त बैठक आह्वान गरेका छन् ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेस केन्द्रित दलका शीर्ष नेताहरुलाई डाकिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
शुक्रबार दिउँसो साढे ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा संविधान संशोधन र स्थानीय चुनावबारे छलफल हुने छ ।
साथै संविधान संशोधनका लागि सहमतिको निर्माण गर्न मधेसी मोर्चाका नेतासहितको कार्यदलका सदस्यलाई पनि बेठकमा बोलाइएको जनाइएको छ ।