
काठमाडौं – हङकङकी प्रमुख कार्यकारी क्यारी लामले शहरमा चलिरहेको विरोध अन्त्य गर्न अनुरोध गर्दै विदेशी हस्तक्षेपको आलोचना गरेकी छन् ।
आइतवार हजारौं हङकङवासीले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई हङकङ स्वतन्त्र बनाउन आह्वान गरेपछि लाम क्रुद्ध भएकी हुन् ।
उनीहरूले अमेरिकी वाणिज्य दूतावासतर्फ जुलूस निकालेर अमेरिकी कंग्रेसलाई लोकतन्त्रपक्षधर आन्दोलनको समर्थनका लागि एक विधेयक पारित गर्न समेत आह्वान गरेका थिए ।
लामले भनिन्, ‘कुनै पनि देशले हङकङको मामिलामा हस्तक्षेप गर्नु अनुपयुक्त हो । अमेरिकालाई विधेयक पारित गर्नका लागि आह्वान गर्ने मानिस अब हङकङमा नरहून् भन्ने मेरो चाहना छ ।’
वाशिङटनसँगको आर्थिक सम्बन्धमा आउने कुनै पनि परिवर्तनले पारस्परिक हितलाई हानि गर्ने उनले बताइन् ।
अघिल्लो साता सरकारले विरोधको जडका रूपमा रहेको सुपूर्दगी कानूनलाई पूर्णरूपमा फिर्ता लिएको घोषणा गरे पनि विरोध थामिएको छैन ।
अमेरिकामा दुवै प्रमुख दलका केही नेताले हङकङ विरोधकर्ताहरूको समर्थन गरेको भए पनि ट्रम्प प्रशासनले चीनसँग व्यापारयुद्ध लडिरहेको बेलामा हङकङको विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
एजेन्सी