१९ असार २०८३, शुक्रबार

मूल्य निर्धारण नहुँदा थन्कियो यार्सागुम्बा

मूल्य निर्धारण नहुँदा थन्कियो यार्सागुम्बा

बझाङ – संकलन गरिएको ३ महिना बितिसक्दा समेत यार्सागुम्बाको मूल्य निर्धारण हुनसकेको छैन ।

यतिखेर जिल्लाका अधिकांश गाउँका मानिसले संकलन गरेको यार्सागुम्बा थन्किएको छ ।

बहुमूल्य बुटीका रूपमा रहेको यार्सागुम्बाको मूल्य निर्धारण नभएपछि गाउँघरमा संकलन गरिएको यार्सागुम्बा थन्किएको र यार्सागुम्बा संकलकहरू बिक्री गर्ने मूल्य निर्धारण नहँुदा अन्योलमा परेका छन् ।

३ महिनाको कडा परिश्रमबाट संकलन गरिएको यार्सागुम्बाको मूल्य निर्धारण नभएपछि बिक्री वितरण हुननसकेको साइपाल गाउँपालिकाका उमेश बोहराले बताए । गत वर्ष प्रतिकेजी १८ लाख रुपैयाँका दरले खरीद बिक्री भएको यार्सागुम्बा यस वर्ष मूल्य घटेको भन्दै ठेकेदारले प्रतिकेजी ८ लाखभन्दा बढी तिर्न नमानेपछि र मूल्य निर्धारण नभएपछि संकलन गरेको यार्सागुम्बा घरमै थन्किएको बोहराले बताए ।

यार्सागुम्बा बिक्री गरी घरपरिवार चलाउँदै आएका जिल्लाका यार्सा संकलकहरू बजारमा उचित मूल्य निर्धारण नभएको भन्दै यार्सागुम्बा कोठामा थन्क्याएर राख्न बाध्य छन् । हरेक वर्ष केही मात्रामा यार्सागुम्बा संकलन गर्दै आएका स्थानीय ठेकेदारले पनि मूल्य निर्धारण नभएको भन्दै यार्सागुम्बा किन्नमा कुनै चासो दिएका छैनन् ।

जिल्लाका साइपाल, सुर्मा, तल्कोट, बुंगल लगायत उत्तरी भेगका वासिन्दा बर्सेनि यार्सा संकलन गर्न जाने गरेका छन् । 

यस भेगका १० वर्षका बालबालिकादेखि ६० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकसमेत यार्सा संकलन गर्न हिमाली क्षेत्र कालापानी, चाल्ला वन, श्याम वन, राइढुंगी, माझालगायतका ठाउँमा जिल्लाभित्र तथा जिल्ला बाहिरका मानिस जाने गरेका छन् ।

प्रत्येक वर्ष जथाभावी फोहर तथा उत्खनन् गर्ने र धेरै मानिस संकलन गर्न जाने भएकाले यार्सागुम्बामा समेत कमी हँुदा आगामी वर्षमा यार्सागुम्बा संकलन कार्यलाई व्यवस्थित गर्दै लैजाने साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्