
काठमाडौं, १८ चैत — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले एफबीआईलाई ट्रम्प अभियानको रुससँगको सम्बन्धका बारेमा बयान दिन इच्छुक रहेको बताएका छन् ।

आफूविरुद्ध अभियोजनबाट उन्मुक्तिको बदलामा बयान दिन चाहेको उनले बताएको द वाल स्ट्रीट जर्नलले लेखेको छ ।
फ्लिनले गत फेब्रुअरी महिनामा राजीनामा दिएका थिए । उनले रुससँग कुराकानी गरेको र ट्रम्पले शपथ लिनुअघि नै रुसी राजदूत सर्गेई किस्ल्याकसँग प्रतिबन्ध हटाउनेबारे छलफल गरेको अनि उपराष्ट्रपतिसँग झुट बोलेको कुरा सार्वजनिक भएको थियो ।
एफबीआई र अमेरिकी हाउस तथा सिनेट दुवैका इन्टेलिजेन्स समितिहरूले अमेरिकी निर्वाचनमा रुसले हस्तक्षेप गर्ने कोशिश गरेको सम्बन्धमा अनुसन्धान गरिरहेका छन् । तर फ्लिनका वकिलहरूले गरेको प्रस्तावलाई समितिले स्वीकार गरिसकेका छैनन् ।
फ्लिनका एक वकिलले भने, ‘जर्नेल फ्लिनले एउटा कथा भन्नुपर्ने छ र परिस्थिति अनुकूल भएमा उनी भन्न चाहन्छन् ।’
ट्रम्पले रुसको सहयोगमा चुनाव जितेको आरोप लगाइने गरिएको छ र यसमाथि अनुसन्धान चलिरहेको छ । यस क्रममा ट्रम्पका पूर्वअभियन्ता पल मानाफोर्ट, ज्वाईं ज्यारेड कुश्नर, सहयोगीहरू रोजर स्टोन र कार्टर पेजले पनि समितिमा बयान दिन इच्छा देखाएका छन् तर उन्मुक्तिको शर्त तेर्स्याएका छैनन् ।
एजेन्सीको सहयोगमा