
बुटवल– सिद्धार्थ राजमार्गअन्तरगत बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिर नजिकै शुक्रबार बिहान दुई वटा गाडी पहिरोमा पुरिएका छन् ।
बुटवलबाट बाग्लुङको बरेङतर्फ जाँदै गरेको लु१ज २६१७ नम्बरको यात्रुबाहक जीप र पाल्पाबाट बुटवलतर्फ आउदै गरेको लु२च ५९३८ नम्बरको स्काेरपीओ कारलाई पाल्पाको तिनाउ गाउँपालिका सिद्धबाबा (हेडबक्क) नजिकै माथिबाट खसेको पहिरोमा परेका थिए ।
पहिरोमा परेर जीप चालक रुपन्देही तिलोत्तमाको मक्रहरका कमल परियारको घटनास्थलमै मृत्यु भएको छ भने जीपमा सवार ४ जना गम्भीर घाइते छन् बुटवलका नरेन्द्र हमाल र निमल शाही, गुल्मी पूर्तिघाटका प्रेम सुनार र रुपन्देही शंकरगरमा ललित मल्ल गम्भीर घाइते भएका छन् ।
उनीहरुको बुटवलस्थित लुम्बिनी प्रादेशिक हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलमा डिएसपी भीमलाल भट्टराई जानकारी दिए । स्काेरपीओमा सवार ३ जना सकुसल रहेका चालक स्कारपियो चालक दलबहादुर रानाले बताए ।
‘जिपमा माथिबाट पहिरो खसेपछि केही यात्रु भागेका देखिन्छन्, कति यात्रु थिए भन्ने अझै खुल्न सकेको छैन’ डिएसपी मल्लले भने ।
पहिरोबाट बन्द रहेको सडक खुलाउने अन्तिम तयारी भइरहेको भट्टराईले जानकारी दिए । केही समय अगाडि पनि पहिरोमा मोटरसाइकल परिएको थियो ।
प्रत्येक वर्ष यहाँ पहिरोमा परी धेरै यात्रुहरुको अकालमै मृत्यु हुने गर्छ । यो सडकको विकल्प प्रदेश र संघीय सरकारले खोजे पनि अहिलेसम्म निकालेका छैनन् ।