१३ असार २०८३, शनिबार

पाटनका ११ टोलवासीले इन्द्रजात्रा मनाउँदै

पाटनका ११ टोलवासीले इन्द्रजात्रा मनाउँदै

ललितपुर–वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी शुक्रवार साँझ पाटन सुन्धारा निवासी ११ टोलका टोलवासीले इन्द्रजात्रा पर्व मनाउँदैछन् । हरेक वर्ष भदौ शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व पाटनको सुन्धारा, काठमाडाैं, भक्तपुरलगायत देशका केही स्थानमा मनाउने गरिन्छ । 

बिहीबार भाद्र शुक्ल द्वादशीका दिन पाटनको च्यासलमा लगनखेलका १९ टोलवासीले पाँच फिट अग्लो लिङ्गो ठड्याएर इन्द्रजात्रा पर्व शुरुआत गरिसकिएको भीमसेनबहाल निवासी ७१ वर्षीय सूर्यमान डङ्गोलले जानकारी दिए। उनले भने, “काठको खाटमा काठकै इन्द्रको मूर्ति बनाई च्यासलमा गुभाजु र पुरोहितबाट घण्टी बजाई सम्येबजी चढाएर पर्व मनाइसकेका छन् ।”

सुन्धारामा पनि इन्द्रजात्रा पर्व यसैगरी मनाउने गरिन्छ । पाटनमा सो पर्व चार दिनसम्म मनाइने भएकाले शनिबार भाद्र शुक्ल पूर्णिमाको दिन पाटनको मङ्गलबजार, टङ्गाल र आइतबार साँझ गाःबहालका टोलवासीले इन्द्रजात्रा पर्व मनाउने गर्छन् ।

इन्द्रकी आमाले अष्टमीको व्रत गर्न पारिजातको फूल ल्याउन उहाँलाई आग्रह गरेपछि इन्द्रले पारिजातको फूल देवलोक र पाताललोकमा नपाएर पृथ्वीलोक लिन आएका थिए भन्ने किंवदन्ती छ । 

पारिजातको फूल खोज्ने क्रममा राजा इन्द्रले एउटा मालीको बगैँचामा सो फूल देखेर टिप्न खोज्दा मालीले चोर भनी समातेर बेइज्जत गरेको भनाइ पनि जनजिब्रोमा छ । छोरा घर नआएपछि इन्द्रकी आमा खोज्दै जाने क्रममा पृथ्वी आइपुगिन् । त्यसबेला रात परिसकेको भएतापनि उनको तेज र शक्तिको प्रभावले पृथ्वी उज्यालो भयो । 

मालीले सबै कुरा थाहा पाएर आमाछोरालाई सम्येबजी खुवाएर आरधना गरी माफ मागेको जनश्रुति रहेको छ । त्यसैले पाटनवासीले इन्द्रजात्रा पर्वमा विशेषगरी छोरीचेली बोलाएर सम्येबजी खुवाउने गरेका छन् । पाटनमा मनाइने यो पर्व काठमाडाैंं र भक्तपुरमा मनाइनेभन्दा केही फरक छ ।
 

salt training

कमेन्ट गर्नुहोस्