काठमाडौं – भारतको महाराष्ट्रमा एक साँढेले चार ग्राम तौल भएको मंगलसूत्र निलेको छ । त्यो मंगलसूत्रलाई लगभग अढाइ लाख रुपैयाँ पर्छ ।
घटना अहमदनगर जिल्लाको राइते वागापुर गाउँमा भएको हो ।
साँढे महोत्सव बैल पोलाका अवसरमा साँढेले मंगलसूत्र निलेको हो ।
उक्त महोत्सवमा कृषकहरूले साँढेलाई सजाउँछन् र गाउँमा जुलूस निस्कन्छ । साँढे लगिएको घरका महिलाले साँढेलाई आरती गर्छन् । त्यसक्रममा स्वर्ण आभूषणले साँढेको निधारमा छोइन्छ ।
बेल पोलाको साँझ एक महिलाले साँढेको निधारमा मंगलसूत्र छुआएर पूजाथालीामा राखिन् ।
पूजाकै अंगका रूपमा चनाको रोटी साँढेलाई खुवाइन्छ । अचाक गाउँमा बत्ती गएपछि पूजा गरिरहेकी महिला पूजाथाली भुइँमा राखेर मैनबत्ती खोज्न हिँडिन् । त्यतिखेर एक साँढेले थालीको रोटी खाइदियो ।
मैनबत्ती लिएर फर्किएकी महिलाले खानेकुराका साथै सुनको मंगलसूत्र पनि गायब पाइन् । उनले पतिलाई यसको बारेमा बताइन् । पतिले साँढेहरूको मुख खोलेर हेरे तर केही देखिएन ।
साँढेले गोब्य्राएपछि मंगलसूत्र भेटिएला भन्ने आशा गरेका पतिपत्नीले सबै गोबर राखिरहे । तर मंगलसूत्र भेटिएन ।
त्यसपछि कसैले उनीहरूलाई पशुचिकित्सककहाँ जान भन्यो । पशुचिकित्सक नेनेले साँढेको रेटिकुलममा मंगलसूत्र अड्किएर बसेको पध लगाए ।
डा नेनेले साँढेको शल्यक्रिया गरे र मंगलसूत्र निकाले । सबै गरेर कृषकले पाँच हजार भारु खर्च गर्नुपरेको थियो । शल्यक्रियाको घाउका कारण साँढेलाई एक महिना आराम दिनुपरेको थियो ।
एजेन्सी