
काठमाडौं – फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले भ्रष्ट सरकारी कर्मचारीहरूलाई गोली हान्न तर नमार्न नागरिकहरूलाई आह्वान गरेका छन् ।
अधिकारीहरूले घूस लिएको देख्ने अनि घुस्याहालाई गोली हान्ने व्यक्तिलाई अभियोजनबाट उन्मुक्ति दिइने डुटेर्टेले बताए । तर गोली लाग्ने व्यक्ति बाँचे मात्र उन्मुक्ति दिइने उनको भनाइ छ ।
बटान नामक स्थानमा बिहीवार भाषण गर्दै उनले भ्रष्ट अधिकारीहरूलाई गोडामा गोली हाने जेलबाट बच्न सकिने र यस्तो कामलाई प्रतिरक्षा गरिने बताए ।
‘कसैले घूस माग्यो भने पिटे हुन्छ । हतियार छ भने गोली हाने हुन्छ तर मार्न चाहिँ नमार्नू, नत्र मुद्दा चलेमा क्षमदान पाउने छैनौ । गोडामा गोली हाने हुन्छ । त्यसले गम्भीर शारीरिक चोटपटक मात्र लाग्छ । तिमीलाई प्रोबेसनमा राखिनेछ । प्रोबेसन अधिकारीलाई सम्पर्क गरे पुग्छ,’ उनले भने ।
राष्ट्रपतिले जनतालाई आफ्नो अधिकार माग गर्न भने र कुनै सरकारी अधिकारी वा कर्मचारीले भ्रष्टाचार गरेमा त्यसको रिपोर्ट गर्न भने ।
आफ्नो कार्यालयमा भ्रष्टाचारको घटनाको खबर पुगेमा भ्रष्टाचार गर्ने अधिकारीलाई बोलाउने अनि उजुरीकर्तालाई त्यो भ्रष्टाचारीको गाला चड्काउन भन्ने डुटेर्टेले बताए ।
एजेन्सी