
काठमाडौं – ब्राजिलको साओ पाउलोमा आइतवार एक चर्चमा विवाह समारोह चल्दै गर्दा गर्भवती दुलहीको हृदयघातबाट मृत्यु भएको छ ।
आकस्मिक सिजेरियन शल्यक्रिया गरेर शिशु भने जन्माइएको थियो ।
जेसिका ग्वेदेस ६ महिनाकी गर्भवती थिइन् र स्वस्थ नै देखिन्छिन् । तर चर्च जाँदै गर्दा उनी गाडीभित्रै बिरामी भएक िथिइन् ।
शुरूमा त उनको परिवारलाई उनी विवाह समारोहका बारेमा नर्भस भएको जस्तो लाग्यो । उनले चक्कर लागेको अनि गर्दनमा पीडा भएको गुनासो गरेकी थिइन् ।
उनलाई प्रीक्लाम्पसिया लागेको परिवारले थाहा पाएनन् र यसले नै उनको जीवन हर्यो ।
उनलाई अस्पताल पुग्नेबित्तिकै चिकित्सकहरूले ब्रेनडेड घोषणा गरेका थिए ।
उनका प्रेमी फ्लाभियो गोन्साल्भेज चर्चभित्र दुलही कुरेर बसेका थिए र ढिलाइ भएपछि छक्क परेका थिए ।
दुलही कारमै बेहोश भएपछि उनको एक नातेदारले सहायताको गुहार लगाएकी थिइन् ।
जेसिकालाई साओ पाउलोमा रहेको प्रसूतीगृह लगिएको थियो । उनलाई प्रीक्लाम्पसियाका कारण हृदयघात भयो र आन्तरिक रक्तश्राव भयो । त्यसपछि सर्जनहरूले गर्भ हटाउनुपरेको थियो ।
जम्मा २९ हप्ताको शिशुलाई आकस्मिक सिजेरीयन शल्यक्रिया गरेर जन्माइएको थियो । शिशुको अवस्था सामान्य छ ।
एजेन्सी