
काठमाडौं – टर्कीमा प्यारासेलिङ गरिरहेका एक रुसी पर्यटकको प्यारासेलिङ तार समुद्रभन्दा २०० फीटमाथि चुँडिएपछि ताडको रुखमा ठोकिएर मृत्यु भएको छ ।
मार्क मित्रोफानोभ र उनकी आमा तातियाना एउटा स्पीडबोटमा जोडिएको प्यारासेलिङ गरिरहेको बेलामा चर्को हावा चलेपछि तार चुँडिएको थियो ।
तार चुँडिएपछि आमा समुद्री किनारको एक होटलको भुइँमा पछारिएकी थिइन् र उनी अहिले अस्पतालमा छिन् ।
तातियानालाई अनुहारमा चोट लागेको छ ।
किशोर वयका मार्कलाई अस्पताल लगिएको भए पनि सघन उपचार कक्षमा उपचार चल्दै गर्दा मृत्यु भयो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
दुर्घटनाको भिडियोमा आमाछोरा नियन्त्रण गुमाएर ताडको रुखतर्फ गएको देखिन्छ ।
तातियानाले प्रेसहाटासँग कुरा गर्दै भनिन्, ‘हामीहरूले लगभग एक मिनट दृश्यावलोकन गर्यौं अनि अचानक तार चुँडियो । हामीहरू सडक र ताडका रुखतिर उड्यौं । रुखमा ठोकिएको मात्र मलाई याद छ ।’
एजेन्सी