काठमाडौं, २१ चैत– शिक्षक सेवा आयोगले शिक्षक पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ ।
आयोगले शनिबार १६ हजार ३ सय २६ पदका लागि विज्ञापन गरेको हो ।

शिक्षा ऐन, २०२८ (आठौं संशोधन) को दफा ११च. (१) को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्यांशको उपखण्ड (१), (२) र (३) मा भएको व्यवस्था अनुसार सामुदायिक विद्यालयहरुमा रिक्त शिक्षक पद स्थायी रुपले पदपूर्ति गर्नुपर्ने भएकोले दरखास्त आह्वान गरिएको आयोगले जनाएको छ ।
योग्यता पुगेका उम्मेद्वारले आगामी बैशाख १७ गतेभित्र तोकिएको शुल्क र त्यसको थप एक साताभित्र दोब्बर दस्तुर तिरी दरखास्त पेश गर्न सक्नेछन् । दरखास्त सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरुमा दिन सकिने छ ।
निर्वाचन आयोगले नतिजा प्रकाशन बाहेक अन्य सबै प्रक्रिया पुरा गर्न अनुमति दिएपछि अस्थायी शिक्षकको व्यवस्थापन गर्न आयोगले स्थायी पदपूर्ति गर्न विज्ञापन गरेको हो ।
आयोगले विज्ञापन गरेसँगै ०४९ अघिदेखि अस्थायी रुपमा कार्यरत २६ हजार १ सय ५१ जना शिक्षकको अब व्यवस्थापन हुने देखिएको छ।
बिज्ञापन हेर्नुहोस्