
काठमाडौं – परम्परागत रूपमा रोमन क्याथोलिक चर्चका पोपले युद्ध तथा भोक जस्ता विपतका विरुद्ध भाषण दिन्छन् । तर पोप फ्रान्सिसले अहिले आएर विशेषणविरुद्ध बयान दिएका छन् ।
भ्याटिकन सञ्चार टोलीलाई मंगलवार गरेको सम्बोधनमा पोपले विशेषणको अतिउपयोगका विषयमा कुरा गरे र आफूलाई विशेषणप्रति एलर्जी भएको बताए ।
उनले भने, ‘हामीहरू विशेषण र क्रियाविशेषणको संस्कृतिमा जाकिएका छौं र हामीले संज्ञाको शक्ति बिर्सिएका छौं । वास्तविक क्रिस्चियन किन भन्नुपर्यो ? क्रिस्चियन भने पुग्दैन ?’ तर क्रिस्चियन शब्द आफैं पनि कहिलेकाहीँ विशेषण बन्ने कुरा उनले स्वीकार गरे ।
उनले भ्याटिकका सञ्चारविद्हरूलाई वास्तविकताका साथ सञ्चार गर्न अनि गुलिया विशेषण वा क्रियाविशेषण प्रयोग नगर्न आह्वान गरेका छन् । ‘सुन्दरता संज्ञाबाट नै झल्किन्छ, केकमा स्ट्रबेरी नभए पनि फरक पर्दैन ।’
पोपको सामाजिक सञ्जाल अकाउन्ट चलाउने समूहले उनको एउटा ट्वीट पोस्ट गरेर क्रिस्चियनहरूलाई विशेषण प्रयोग गर्ने प्रलोभनबाट बच्न आग्रह गर्यो ।
पोपको यो ट्वीटले ट्विटरमा मिश्रित प्रतिक्रिया पायो । केहीले यो धेरै अघि नै गरिनुपर्ने काम भएको लेखे भने केही अन्यले चाहिँ पोस यस्ता झिनामसिना कुरामा अल्झिएको टिप्पणी गरे ।
एजेन्सी