जनकपुरधाम– दशैंको मुखमा चोरी गर्न खोज्ने एक गिरोहलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।
जनकपुरधामस्थित जानकी फर्निसिङ पसलमा चोरी गर्दैगर्दा पुगेको प्रहरी टोलीले गोली चलाएर चार जनालाई नियन्त्रणमा लिएको हो ।
बिहीवार बिहान करीब साढे ३ बजे सटर फोरेर पसलमा छिरेका उनीहरू प्रहरी देखेपछि भाग्न खोजेका थिए ।
त्यसक्रममा प्रहरीले चलाएको गोली लागि एक जना घाइते समेत भएका छन् । उनको जनकपुर अस्पतालमा उपचार भइरहेको छ ।
पक्राउ पर्नेमा २ भारतीय र २ नेपाली नागरिक रहेको जनकपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको बिहारस्थित सीतामढी इस्लामपुरका ४० वर्षीय मो. इलियास, सीतामढी बर्गेनीका ३९ वर्षीय उजिर अन्सारी, रौतहटको वृन्दावन नगरपालिका घर भएका ३५ वर्षीय गगन पटेल र गौर नगरपालिका घर भएका ४५ वर्षीय विनोदप्रसाद सिंह छन् ।