
काठमाडौं– नयाँ बसपार्कमा यान्त्रिक परिक्षण शुभारम्भ तथा सार्वजनिक यातायातमा जनचेतना मुलक अडियो विमोचन गरिएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा लोत्से बहुउदेशीय प्रा. लि.को विशेष पहलमा कार्यक्रम सम्पन्न भएको हो ।
बसपार्कबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधनहरुको निःशुल्क यान्त्रिक परिक्षण गरी सम्भावित दुर्घटना न्युनीकरण गर्नका लागि यस कार्यक्रमको आयोजना गरिएको हो । सो परिक्षण सिप्रदी तथा टाटा मोटर्सले निःशुल्क रुपमा हरेक गाडीको ११ वटा गुणस्तर र सुरक्षाका सूची बनाएर गर्ने छ । ‘सुरक्षित यात्रा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ उक्त कार्यक्रम उत्साहपुर्ण रुपमा शुरूवात गरिएको छ ।

सो कार्यक्रममा बोल्दै सिप्रदी कम्पनिज्का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, 'चाडपर्वहरुको समयमा सार्वजनिक यातायातको चाप बढ्ने हुँदा सवारीसाधन र यात्रुहरुको सुरक्षित यात्राका लागि विभिन्न किसिमका ११ वटा निःशुल्क यान्त्रिक परिक्षण गरी सेवा पुर्याउन पाउँदा खुसी लागेको छ र आगामी दिनमा यस्तै किसिमका अन्य कार्यहरु मार्फत जोडिएर सेवा सुविधा पुरर्याउन प्रतिबद्ध छौँ ।'
बसपार्कमै रहेको टाटा मोटर्सका लागि सिप्रदीको वर्कसप मार्फत् सवारीसाधनको यान्त्रिक परिक्षण हुनेछ भने यात्राका क्रममा कुनै पनि समस्या देखिएमा टाटा मोटर्सको मोबाइल भ्यान मार्फत् सेवा उपलब्ध गराइनेछ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रमुख जिल्ला अधिकारी जनक राज दाहाल थिए भने विशेष अतिथिका रुपमा यातायात व्यवस्था विभाग, महानगरीय प्रहरी परिसर टेकु, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ, महानगरीय प्रहरी अपराध महाशाखा, सवारी परिक्षण कार्यालय, काठमाडौं महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष र विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।