
काठमाडौं – यस वर्ष मनसुन अन्त्य हुने साविकको औसत अवधिभन्दा ३ दिन पर पुगेको छ ।
नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलबाष्पयुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन सकिनका लागि जुन किसिमको वातावरण आवश्यक पथ्र्यो त्यो वातावरण अनुकूल देखिँदैन । तल्लो वायुमण्डलमा पश्चिमी वायु चल्नुपर्छ तर अहिले पूर्वी वायु नै सक्रिय रहेकाले मनसुनको समयावधि लम्बिएको मौसमविद् समीर श्रेष्ठले बताए ।
‘केही दिनयता निरन्तर रुपमा बंगालको खाडीबाट जलबाष्पयुक्त हावा आइरहेकाले दशैंसम्म नै मनसुन रहने सम्भावना देखिएको हो,’ उनले भने । पश्चिमी वायु सक्रीय भएलगत्तै नेपालमा चिसो बढ्ने अनुमान गरिएको छ ।
सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुने गथ्र्यो तर यसवर्ष १० दिन ढिलो गरी ९ जुन २०० आसर ५ मा मनसुन भित्रिएको थियो । गत वर्ष पनि अक्टोबर ५ मा मनसुन बाहिरिएको थियो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा लामो समयको मौसमी गतिविधि प्रक्षेपण गर्ने प्रविधि नभएपनि १ सातासम्मको गतिविधि प्रक्षेपण गर्न सकिने प्रविधि छ । सो अनुसार दशैंको शुरुआती दिनमा देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना देखिन्छ ।
हाल देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा भइरेहको महाशाखाले जनाएको छ । यो स्थिति शनिबारसम्म यथावत रहने बताइएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार बिहीवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव ९ डिग्री र अधिकतम तापक्रम २५ दशमलव ६ डिग्री सेलिसयस रहेको छ ।