२४ जेठ २०८३, आइतबार

गढीमाईमा पशुबलिको रक्तपात रोक्न कानूनी सक्रियता, सर्वाेच्चको फैसला कार्यान्वयन गर्न जोड

गढीमाईमा पशुबलिको रक्तपात रोक्न कानूनी सक्रियता, सर्वाेच्चको फैसला कार्यान्वयन गर्न जोड
फाइल फोटो

वीरगञ्ज – बारा जिल्लाको गढीमाई नगरपालिका–११ मा रहेको प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिरमा हुने बलिप्रथालाई रोक्न सर्वोच्च अदालतले जारी गरेको परमादेश तथा निर्देशनात्मक आदेशलाई स्वागत गर्दै त्यहाँ हुने रक्तपातलाई रोक्न जनस्तरमा चेतना फैलाउनुपर्ने बिहीवार वीरगञ्जमा आयोजित अन्तर्क्रियामा वक्ताले बताएका छन् । 

करीब २६५ वर्षको लामो इतिहास बोकेको धार्मिक शक्तिपीठ गढीमाई मन्दिरमा हुने पशुबलि जस्ता कुसंस्कारलाई रोकी अर्को विकल्प खोज्नुपर्नेमा वक्ताले जोड दिएका छन् ।

सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयद्वारा बिहीवार वीरगञ्जमा आयोजित गढीमाई मेलामा बलि दिने प्रथालाई निरुत्साहित गर्नेबारे आयोजित अन्तर्क्रियामा वक्ताले पूरातनरूपमा चलिआएको यो प्रथालाई रोकी पशुबलिको ठाउँमा अन्य विकल्प अपनाउन सबैसँग आग्रह गरेका छन् । 

वक्ताहरूले विश्वमा सबैभन्दा बढी पशुबलि गढीमाई मन्दिरमा दिने परम्पराका कारण विश्वमाझ नेपालको छविमा नकारात्मक प्रभाव पर्दै गएकाले त्यसलाई विस्तारै परिर्वतन गरी सर्वोच्चको फैसलालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । प्रत्येक ५ वर्षमा लाग्ने यो मेला यस वर्ष आउँदो मंसिर १७ गतेदेखि शुरू हुँदैछ । मेलामा बलि दिन नेपाललगायत भारतका लाखौं दर्शनार्थी आउने गरेका छन् । 

बलिप्रथा रोक्नुपर्ने माग राखी फैसला कार्यान्वयन निर्देशनालयका कार्यकारी निर्देशक तथा रिट निवेदक मध्येका एक मनोज गौतमले दिएको रिट निवेदनको मुद्दामाथि सर्वोच्च अदालतले २०७३ साउन २० गते बलिप्रथा रोक्नेबारे फैसला सुनाएको छ ।

सर्वोच्च अदालतले नेपाल सरकार, सम्बन्धित मन्त्रालय तथा विपक्षीको नाममा जारी गरेको परमादेश तथा निर्देशनात्मक आदेशमा भनेको छ, ‘पशुबलि दिने दिलाउने कार्यमा प्रत्यक्ष वा परोक्षरूपमा प्रोत्साहनमा सहयोग पुग्ने गरी सरकारको तर्फबाट कुनै कार्य नगरी त्यस्ता कार्यलाई निरुत्साहित गर्न गराउनू ।’

अन्तर्क्रिया कार्यक्रममा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीश डिल्लीराम आचार्यले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न नियतमा परिर्वतन गरी जनचेतना फैलाउनुपर्ने आवश्यकतामाथि जोड दिए । उनले कानूनले समाज नबनाएर समाजले कानून बनाउनुपर्ने भएकोले बलिप्रथा उन्मूलनप्रति सकारात्मक सोच लिएर समाज अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सोही कार्यक्रममा पर्सा तथा बाराका प्रमुख जिल्ला अधिकारीहरु नारायणप्रसाद भट्टराई तथा फणिन्द्रमणी पोखरेलले मंसिर १७ गतेदेखि शुरू हुने गढीमेलालाई कसरी रक्तपातविहीन बनाउने भन्ने विषयमा सर्वोच्च अदालतको फैसलालाई अवसरको रूपमा लिनुपर्ने धारणा राखे ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले धर्मशास्त्र विरुद्धमा आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न निसहाय प्राणीको बलि दिनु अमानवीय भएको बताए । सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालय काठमाडौंका महानिर्देशक गजेन्द्रबहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा कुमार पौडेल, मनोज गौतम, अधिकारकर्मी सिकेन्द्र पासवान, पशु कल्याण संघ नेपालका अध्यक्ष कलावती पासवान लगायतका वक्ताहरुले विश्वमा सबैभन्दा बढी पशुबलि दिइने गढीमाईको सन्दर्भमा भारतीय अदालतले पनि आफ्ना स्थानीय सरकारलाई भारतबाट बलि चढाउन पशुहरु लगिने भएकोले खुला सीमाका कारण सो रोक्न नसकिएको जनाएकाले समाजमा चेतना फैलाउनुपर्नेमा जोड दिए । – वीरेन्द्र कर्ण/रासस 

salt training

कमेन्ट गर्नुहोस्