३० जेठ २०८३, शनिबार

हिजो दिनभर : प्रधानमन्त्रीको निर्देशनदेखि बैंक ह्याकिङका एजेण्ट पक्राउसम्म

हिजो दिनभर : प्रधानमन्त्रीको निर्देशनदेखि बैंक ह्याकिङका एजेण्ट पक्राउसम्म

लक्ष्यकेन्द्रित काम गर्न प्रधानमन्त्रीको निर्देशन

    प्रधानमन्त्री केपी शर्मा ओली देखिने प्रकारको आर्थिक उन्नति र विकासको प्रगति ल्याउन सबै मन्त्री र सचिवहरुलाई समन्वयात्मक रुपमा सक्रिय हुन निर्देशन दिएका छन् । 
चालू आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पहिलो दुई महीनाको समीक्षाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री ओलीले घोषित लक्ष्य र प्रगतिलाई आगामी समीक्षामा नयाँ सोचका साथ बढी स्पष्ट र मूर्त बनाएर प्रस्तुत गर्न पनि निर्देशन दिए । 

    प्रधानमन्त्री ओलीले भने, “अगाडि नबढेका आयोजना के कारण अगाडि नबढेको हो भन्ने देखिनुपर्छ । यस दुई महीनामा नभएका काम छन् भने आगामी दुई महीनामा दोब्बररुपमा काम गर्नुपर्छ । त्यसो हुन नसकेकामा वार्षिक लक्ष्य पूरा हुन नसक्ने स्थिति हुन्छ । यसमा साथीहरुको ध्यान जाओस् । काम बढी गर्न र प्रतिवेदन चुस्त, दुरुस्त राख्नुहोस् ।”

    उनले महत्वपूर्ण र ठूला काम हुन नसकेमा सानासाना काम सम्पन्न हुनाको अर्थ हुँदैन भन्दै विकासमा योगदान दिन, आर्थिक उन्नति र समाजमा परिवर्तनको सकारात्मक परिणाम र असर पार्न सक्ने गरी महत्वपूर्ण कार्यक्रममा केन्द्रित हुन पनि आग्रह गरे । 
  बैठकमा एक मन्त्रालयका फाइल अर्काे मन्त्रालयमा रोकिएर पनि प्रगति हुन नसकेको कुरा उठेपछि प्रधानमन्त्री ओलीले त्यसो नगर्न आग्र्रह गर्दै फाइन बढी अल्झिने मानिएका मन्त्रालयलाई ढिलाइ नगर्न र अर्काे मन्त्रालयको प्रगतिमा सघाउन आग्रह गरे । 
 उनले सही समयमा सही काम गर्न र मन्त्रिपरिषद्बाट फिर्ता हुने खालका प्रस्ताव नल्याउन पनि ध्यानाकर्षण गराए । 

बैंक ह्याकिङका एजेण्ट स्याङ्जाबाट प्रक्राउ

    कृषि विकास बैंकको सफ्टवेर ह्याक गरेर रकम निकालिएको घटनामा सङलग्न एजेण्टलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले बिहीबार दिउँसो स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ । 

    सोही घटनामा सङ्लग्न रहेका ११ जनामध्ये उनीसहित ६ जनालाई पक्राउ गरिएको र अझै पाँच जना फरार रहेको महाशाखाले जनाएको छ । पक्राउपर्नेमा प्रतिक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण भुषाल रहेको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । 

    उनलाई स्याङ्जा प्रहरीको सहयोगमा पक्राउ गरिएको र काठमाडौँ ल्याएर घटनाको अनुसन्धान गरिने उनले बताए । 
उनको बैँक खातामा रु ६५ लाख जम्मा भएपछि उनले निकाल्न भ्याएका थिएनन् । 

    यसअघि महाशाखाको टोलीले पानस रेमिट र कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरेर पैसा निकाल्ने नेपाली एजेण्ट गरी १२ जनालाई आइतबार पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

     प्रहरीका अनुसार उनीहरुले कृषि विकास बैंकबाट सफ्टवेयर ह्याक गरी रु चार करोड ७३ लाख ९६ हजार विभिन्न व्यक्तिको नाममा पैसा पठाएको तथा पानस रेमिट नयाँ बानेश्वरबाट रु १२ लाख निकालेका थिए । 

    त्यसमध्ये १० लाख हुण्डीमार्फत विदेशी ह्याकरलाई पैसा पठाए पनि अन्य पैसा लैजान नपाएको प्रहरीले जनाएको छ । प्रहरीले रु ६० लाख बरामद गरिसकेको छ । यसका मुख्य योजनाकार अफ्रिकीमूलका पिटर रहेको र उनले भारतमा बसेर योजना बनाई नेपाली एजेण्टलाई प्रयोग गरेका थिए । उनले रु पाँच अर्ब निकाल्ने योजना बनाएको खुल्न आएको छ । 

नयाँ राजनीतिक दललाई चुनाव चिह्न
 
    निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भाग लिने नयाँ २१ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको छ । आयोगको बिहीबारको बैठकले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको लागि हुने उक्त निर्वाचनमा भाग लिने राजनीतिक दलको दल दर्ता गरी निर्वाचन चिह्न प्रदान गर्ने निर्णय गरेको हो ।    

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सूर्य, समाजवादी पार्टीलाई पाँचऔँलासहितको हत्केला, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) लाई हलो निर्वाचन चिह्न प्रदान गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    ग्रिन पार्टी नेपालले त्रिशूल, नेपाल लोकतान्त्रिक पार्टीले दुईहात जोडेको नमस्कार, राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)ले साँढेगोरु, साझा पार्टीले तराजु, मुस्कान सेना नेपालले पुरुष, नेपाल परिवार दलले साँचो, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)ले हँसिया र हाम्रो पार्टीले धारा चुनाव चिह्न पाएका छन् ।

    त्यस्तै मङ्गोल नेशनल अर्गनाइजेशनले कुखुराको भाले, नेपालवादले तारापुञ्ज, सङ्घीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपालले हवाइजहाज, नेपाली काङ्ग्रेस (बिपी)ले करुवा, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले ट्र्याक्टर, आमूल परिवर्तन मसिहा पार्टी नेपालले हृदय, राष्ट्रिय नागरिक पार्टीले चङ्गा निर्वाचन चिन्ह प्राप्त गरेका छन् ।    

    त्यसैगरी जनमत पार्टी (जपा) लाई लाउडस्पिकर, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल) हँसियामाथि धानको बाला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई गोलाकारभित्रको हँसिया हथौडा प्रदान गरिएको छ ।

    आयोगमा दर्ता कायम भएका, २०७४ को निर्वाचनमा दर्ता नभएका, एकीकरण भएका, नाम परिवर्तन गरेका र २०७४ को निर्वाचनपछि यस आयोगमा दर्ता भएका २१ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरिएको हो ।
 अनेरास्ववियुको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले निजी मेडिकल कलेजको स्वामित्व राज्यले लिएर सञ्चालन गनुपर्ने बताएको छ । अनेरास्ववियुका संयोजक ऐन महरले बिहीबार विज्ञप्ति जारी गर्दै निजी मेडिकल कलेज सञ्चालकले कलेज चलाउन नसक्ने भए राज्यले नै सञ्चालन गर्नुपर्ने बताएका हुन् । 

“राज्यको नीति नियममा बसेर साँच्चिकै कलेज चलाउन नसक्ने हो भने राष्ट्रिय चिकित्सा शिक्षा ऐनको प्रावधानसमेतलाई दृष्टिगत गर्दै त्यस्ता कलेजको जिम्मा लिएर राज्यले नै सञ्चालन गर्नुपर्छ । राज्यको नीति नियम मान्ने अन्य निकायलाई सञ्चालन गर्ने जिम्मा दिनुपर्छ”, विज्ञप्तिमा भनिएको छ । 

सरकारको अग्रसरतामा भएको वार्ता र निर्णयबमोजिम बढी लिएको पैसा फिर्ता गरी तत्काल भर्ना प्रक्रिया अघि बढाउन र सो शुल्कमा भर्ना गर्न नमाल्ने निजी मेडिकल कलेजलाई राज्यको जिम्मा लगाउन विज्ञप्तिमा भनिएको छ ।

नेपाल सरकारले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तहमा उपत्यकाभित्र रु ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ५० हजार भन्दा बढी शुल्क लिन नपाउने मापदण्ड तय गरेको थियोे । 

भरतपुर–१६ अध्यक्षको मङ्सिर १४ मै 

    आयोगले चितवनको भरतपुर महानगरपालिका–१६ मा रिक्त रहेको वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचन प्रयोजनका लागि असोज ७ गतेसम्ममा मतदाता नामावलीमा नाम दर्ता भएका र १८ उमेर पूरा भएका मतदाता मात्र कायम रहने व्यवस्था गरेको छ । असोज ७ गते सरकारले उक्त वडामा पनि मङ्सिर १४ गते नै उपनिर्वाचन गर्ने घोषणा गरेको थियो ।

चिनियाँ राष्ट्रपति सी चिनपिङको भ्रमण सुनिश्चित
 
छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनपिङको सन्निकट नेपाल भ्रमणका सन्दर्भमा विभिन्न चर्चा भइरहेका बेला सरकारले भ्रमणको सुनिश्चित भए पनि मिति भने नटुङ्गिएको स्पष्ट पारेको छ । 

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपतिको भ्रमणको तीव्र प्रतिक्षामा रहेको जानकारी दिँदै भ्रमणलाई उपलब्धिमूलक र फलदायी बनाउन सबै प्रकारको तयारी गरिने उल्लेख गरे । 

    मन्त्रिपरिषद्को असोज ७ गते भएको बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भने, “हामी (सरकार) चिनियाँ राष्ट्रपतिको भ्रमणको तीव्र प्रतिक्षामा छौँ, भ्रमणको मिति समयक्रमसँगै टुङ्गो लाग्छ, हामी यस प्रकारका भ्रमणलाई उच्च महत्व र सम्मान पनि दिन्छौँ ।” उनले सीको भ्रमणलाई द्विपक्षीय हित तथा सम्बन्ध नयाँ उचाइमा पु¥याउने गरी सरकारका तर्फबाट मात्र नभई सञ्चारमाध्यम र नागरिकका तर्फबाट पनि सकारात्मक भूमिका रहने विश्वास व्यक्त गरे ।  

    सञ्चारमन्त्री बाँस्कोटाले समस्यारहित सम्बन्ध रहेको छिमेकी मुलुक चीन अहिले विश्वको दोस्रो शक्तिशाली मुलुकको रुपमा रहेको र त्यहाँबाट विगत २३ वर्षदेखि उच्चस्तरीय भ्रमण नभएको सन्दर्भमा चिनियाँ राष्ट्रपतिको भ्रमणलाई विशेष महत्वका साथ लिइएको उल्लेख गरे । 

यी हुन् मन्त्रिपरिषद्का निर्णय
    
    मन्त्रिपरिषद् बैठकले सूचनाको हक कार्यान्वयनसम्बन्धी अनुगमन निर्देशिका, २०७५ स्वीकृत गरेको छ । नेपाल ट्रस्ट (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत भएको छ । एकल महिला सुरक्षा कोष (सञ्चालन) (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको प्रवक्ता बाँस्कोटाले जानकारी दिए । 
 
    बैठकले मोरङ जिल्ला प्रशासन कार्यालयबाट जारी भएको शम्भुप्रसाद मण्डलको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ । एसिड आक्रमणबाट घाइते भएका जेनी खड्का र मुस्कान खातुनलाई उपचार खर्च एवं जीवनयापन गर्न जनही रु तीन लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिए । 
 
    बैठकले चितवन जिल्ला, भरतपुर महानगरपालिका–१६ को वडाध्यक्षको रिक्त पदपूर्तिका लागि २०७६ मङ्सिर १४ गते शनिबार उपनिर्वाचन हुने गरी मिति तोक्ने र सोको जानकारी निर्वाचन आयोगलाई दिने निर्णय गरेको छ । नेपाली नागरिक नारायणप्रसाद अर्जल र महासेनानी रामजी थापालाई विदेशी मुलुकबाट पदक ग्रहण गर्न स्वीकृति दिइएको छ । प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा गर्ने निर्णय गर्दै उपरथी प्रभुराम शर्माको पदावधि एक वर्ष दुई महीना १५ दिन थपिएको छ ।

    मन्त्रिपरिषद्ले नेपाल प्रज्ञा प्रतिष्ठान र इजरायलको हिब्रु लेखक सङ्घबीच वाङ्मय आदानप्रदान तथा सहकार्य गर्नेसम्बन्धी प्रस्तावित समझदारीपत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई स्वीकृति दिइएको छ । नेपाल सरकार र अष्ट्रेलिया सरकारबीच हवाई सेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरिएको मन्त्री बाँस्कोटाले बताए । 

    शहरी पूर्वाधार विकास निगमको स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ । राजकीय अतिथि गृह निर्माण गर्न तयार गरिएको गुरुयोजना स्वीकृत भएको छ । पूर्वराष्ट्रपति रामवरण यादवलाई भारतको चण्डिगढस्थित अस्पतालमा उपचार गराउँदा लागेको उपचार र उपचारसँग सम्बन्धित बिलबमोजिमको रुपैयाँ नयाँदिल्लीस्थित नेपाली दूतावासबाट भुक्तानी दिने निर्णय गरिएको सञ्चार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

घुस लिएको अभियोगमा मुद्दा दायर 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति मित्र माध्यमिक विद्यालय चाबहिलका प्रधानाध्यापकसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार सहायक प्रधानाध्यापक घनश्यामराज काफ्ले, सहायक प्रधानाध्यापक भरतविक्रम बिसी, लेखापाल बद्रीप्रसाद पराजुलीललगायतले विद्यालयको क्यान्टिन निर्माण सम्पन्न भएपश्चात् मूल्याङ्कन गरी रकम निकासा गर्ने प्रयोजनका क्रममा घुस मागेको आरोप लागेको छ ।

    उनीहरुले सेवाग्राहीसँग रु एक लाख ५० हजार घुस लिँदै गरेको अवस्थामा केही दिन पहिले पक्राउ गरेको थियो । उनीहरुलाई बिगोबमोजिमको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । यस्तै आयोगले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी जवान गम्हिरा साह तेलीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । जवान तेलीले एक मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको आरोप लागेको छ ।

चालक अनुमतिपत्र छपाइका लागि चार लाख कार्ड आइपुग्यो

‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि चार लाख कार्ड ल्याइएको छ । सरकारले १० लाख कार्ड खरीद गरेकामा पहिलो चरणमा चार लाख कार्ड आइपुगेको हो । 
‘ग्लोबल टेण्डर’ मार्फत कार्ड खरीद गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । यसअघि विभागमा कार्ड थोरै मात्रै बाँकी रहेकाले र अहिले ठूलो क्षमताको उपकरण (मास प्रिन्टर) को परीक्षण भइरहेकाले अहिलेसम्म थोरै सङ्ख्यामा छपाइ हुँदै आएको विभागका प्रवक्ता तीर्थराज खनालले बताए ।  दश लाख कार्ड खरीद प्रक्रिया अघि बढाइएकामा केही समयभित्रै बाँकी छ लाख कार्ड आइपुग्नेछ । उनले भने, “कार्ड पर्याप्त भएपछि नियमित र क्षमतानुसार छपाइ हुनेछ ।”

    ‘मास प्रिन्टर’ को क्षमता प्रतिघण्टा ५०० कार्ड छपाइ गर्ने रहेको छ । यसले पूर्णरूपमा काम गर्न थालेसँगै अहिले रहेको चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ समाधान हुने प्रवक्ता खनालले बताए ।  चालक अनुमतित्रका लागि लिइएको परीक्षा उत्तीर्ण र नवीकरणका लागि राजश्व बुझाएको एक वर्ष नाघेका सेवाग्राहीले पनि अझै चालक अनुमतिपत्र पाइसकेका छैनन् ।
  
    सरकारले चार वर्षपहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि नै सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका छैनन् । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ । अहिलेसम्म  विभागमा रहेको मुद्रणयन्त्र (छपाइ मेशिन) को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका थिएनन् । 

गाई काटेको आरोपमा तीन पक्राउ
गाई काटेको अभियोगमा बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बाँकेको खजुरा–७ बढुवाको खेतमा बुधबार राति गाई काटेका तीन जनालाई इलाका प्रहरी कार्यालय धनौलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सल्मान खाँ, वर्षाती खाँ र सरिफ खाँ रहेका छन् भने एक जना फरार रहेका छन् ।

    राति गाई काटिरहेको भन्ने सूचना आएपछि धनौलीबाट प्रहरी टोली त्यसतर्फ गएको थियो । “प्रहरी पुग्दा गाई काटेर घरघरमा मासु लगिसकिएको थियो”, इलाका प्रहरी कार्यालय, धनौलीका प्रहरी निरीक्षक पोषण थपलियाले भन्नुभयो । तीन जनाको घरबाट मासु बरामद गरिएको प्रहरी निरीक्षक थपलियाले जानकारी दिए । 

    तीन जनाको घरबाट ५० किलो गाईको मासु बरामद भएको बताउँदै घटनास्थलमा गाईको टाउको र खुट्टा फेला परेको उनले जानकारी दिए । 
    
भूकम्पको धक्का

लमजुङ र गोरखाको सिमानामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार साँझ ६ बजेर ४९ मिनेट जाँदा लमजुङ र गोरखाको सिमाना खरिबोटबाट पाँच किलोमिटर उत्तरतर्फ केन्द्र विन्दु बनाएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार २०७२ सालमा गएको भूकम्पको पराकम्प मात्र हो । भूकम्पको धक्काबाट जिल्लामा कुनै अप्रिय घटना नघटेको प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले दिए । 

शेर्पा स्पेनका लागि आवासीय राजदूत नियुक्त

    राष्ट्रपति विद्यादेवी भण्डारीले दावा फुटी शेर्पालाई स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छिन् । 

    नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले बिहीबार शेर्पालाई राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

बैंकिङ कसुर मुद्दा 

बैंकिङ कसुर मुद्दाका संलग्न रहेका एक कन्सल्टेन्सीका कर्मचारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान यूरो (सिआइवी) पक्राउ गरेको छ । एक ठाउँको जग्गाको कागजात बनाइ अर्को ठाउँको जग्गा राखेर बैंक अफ काठमाडौँबाट ऋण लिने क्रममा झुटा विवरणअनुसार जग्गाको मूल्याङ्कनमा गर्ने एभरेष्ट इञ्जियीनरिङ कन्सल्टेन्सी विराटनगरका कर्मचारी भेषराज खत्रीलाई पक्राउ गरिएको हो । 

फरार रहेका उनलाई पक्राउ गरी बिहीबार ललितपुर जिल्ला अदालतमा पेश गरिएको सिआइवीका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।  जग्गाको काजगात कीर्ते गरेर ऋण प्रवाह गरेको आरोपमा यसअघि बैंक अफ काठमाडौँका पूर्वप्रमुख कार्यकारी अधिकृतसहित ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले पक्राउ गरिसकेको छ ।  

पक्राउ पर्नेमा बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र ऋणी सुरेन्द्र श्रेष्ठसहित केही बैंकका पूर्वकर्मचारी र केही बहालवाला कर्मचारी पनि छन् । उनीहरुले मिलेमतोमा खोलाको जग्गाको नक्कली कागजात बनाएर सुरेन्द्र श्रेष्ठलाई ऋण दिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनीहरुले तीन वर्षअघि कीर्ते गरेर करोडौँ रकम ऋणको रुपमा निकासा गरेका थिए । 

सभापति देउवासँग अमेरिकी राजदूत बेरीको भेट

    नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । 

    सभापति देउवा निवास बूढानीलकण्ठमा बिहीबार भएको भेटवार्तामा उनीहरुबीच समसामयिक राजनीति र द्विपक्षीय आपसीहितका विषयमा छलफल भएको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिए । 

    भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकाँैदेखिको विकास साझेदारी अझ प्रभावकारीरुपमा अघि बढाउनेलगायत विषयमा छलफल भएको थियो । यस्तै राजदूत बेरीले नेकपा नेता माधव नेपालसँग पनि भेटवार्ता गरेका छन् । 

आइसिसी वरियतामा पारस, सोमपाल र वसन्त
    
    अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का २७ औँ स्थानमा छन् ।
    
    आइसिसीले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान खड्कासँगै वसन्त रेग्मी र सोमपाल कामी पनि परेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका उनी अलराउन्डरतर्फ २७ औँ स्थानमा यथावत् रहेका हुन् । 
    
    कप्तान खड्काले ९० रेटिङ अङ्क पाएका छन् । उनी दुई महीनाअघि २५ औँ स्थानमा थिए । त्यस्तै ब्याटिङतर्फ भने कप्तान खड्का ६६ औँ स्थानमा छन् ।
    
    बलिङमा नेपाली टोलीका सदस्य रेग्मी ४११ रेटिङ पाउँदै ७३ औँ स्थानमा पुगेका छन् भने कामी ३९१ रेटिङ पाउँदै ७८औँ स्थानमा झरेका छन् । त्यस्तै अलराउण्डरतर्फ सोमपाल ६७औँ स्थानमा यथावत् रहेका छन् । उनले ४९ रेटिङ अङ्क पाएका छन् ।
     
    आइसिसीको टोलीमा  टी ट्वान्टी वरियतामा नेपाल ११ औँ स्थानमा यथावत् रहेको छ भने एक दिवसीय वारियतामा नेपाल १७ औँ स्थानमा रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्