०१ असार २०८३, सोमबार

भारतीय ट्रकका कारण शुरू भएको नागढुंगाको जाम ३ दिनसम्म बढेकोबढ्यै, अड्किए सयौं सवारी

एक मिनेट गुड्दा १० मिनेट रोकिन्छन् गाडी
असोज १०, २०७६
भारतीय ट्रकका कारण शुरू भएको नागढुंगाको जाम ३ दिनसम्म बढेकोबढ्यै, अड्किए सयौं सवारी
फोटो फेसबूकबाट

काठमाडौं– पृथ्वी राजमार्गको नागढुंगा–धार्के सडकखण्डमा सवारी जामका कारण यात्रुहरू मर्कामा परेका छन् ।

सडकका खाल्डाखुल्डी, जारी मर्मतसम्भार र गाडीको अत्यधिक चापका कारण सवारी जाम भएको प्रहरीले जनाएको छ ।

मर्मतसम्भारकै क्रममा रहेकाले नागढुंगा–धार्के सडकखण्डमा सवारी जाम बढेको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक नेत्रप्रसाद भट्टले लोकान्तरलाई जानकारी दिए ।

कतै खाल्डाखुल्डी छन्, कतै कच्चीजस्तै भत्केका अप्ठ्यारा सडक छन्, त्यहाँ लोड गाडीहरू सुस्त चल्ने भएकाले पनि जाम बढेको उनी बताउँछन् ।

‘दशैंमा घर जाने यात्रुहरूका कारण अहिले सवारी चाप बढी नै छ, त्यसमा पनि मालबाहक गाडी विस्तारै चल्छन्, जसका कारण जाम बढिरहेको छ,’ प्रहरी निरीक्षक भट्टले भने ।

बिहीवार दिउँसोको वर्षाका कारण सडक हिलो भएकाले पनि जाम खुलाउन ढिला भएको उनले बताए ।

‘हिजो पानी परेपछि सडक अस्तव्यस्त बन्यो, अहिले मेरै नेतृत्वमा जाम खुलाउने काम भैरहेको छ,’ उनले भने ।

सडकको जाम खुलाउन ट्राफिक प्रहरीसँगै जनपथ प्रहरी पनि खटिएको उनको भनाइ छ ।

जामको शुरूवात चाहिँ बुधवार बिहान एक भारतीय मालबाहक ट्रक बिग्रिएपछि भएको उनले जानकारी दिए । ‘त्यसपछि बिस्तारै सवारीको चाप बढ्दै गयो, जाम पनि बढ्दै गयो,’ प्रहरी निरीक्षक भट्टले भने ।

उनका अनुसार अहिले दिउँसोको समयमा सुस्तसुस्त ढंगले गाडीहरू चलिरहेका छन् । ‘बसहरू बिस्तारै गुड्दैछन्, अब जाम कम हुन्छ कि !’ उनले आशा व्यक्त गरे ।

१ मिनेट गुड्दा १० मिनेटसम्म रोकिने अवस्था रहेको प्रहरीकै स्वीकारोक्ति छ ।

अहिले गाडीहरू बिस्तारै गुडिरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी जवान नवराज सापकोटाले पनि बताए ।

‘सडकमा सवारी एकदमै सुस्त गुडेका छन्, घण्टौंसम्म जाममा बस्नुपर्दा यात्रुहरू आजित छन्,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्