२४ जेठ २०८३, आइतबार

संकटमा पानीघट्ट बनाउने व्यवसाय

संकटमा पानीघट्ट बनाउने व्यवसाय

सल्यान– सिद्धकुमाख गाउँपालिका ३ फलाटेका पुने रेउलेले पानी घट्ट वनाउने काम गर्न थालेको ३७ वर्ष भयो ।

सोह्र वर्षका उमेरदेखि पानी घट्ट बनाउन  व्यस्त रेउले आजभोलि फुर्सदिलो बनेका छन् ।

सल्यान–एउटै खानीबाट ५० लाखभन्दा बढीका पानीघट्ट बिक्री गरेर आठ जनाको परिवारको खर्च टार्दै आउनुभएका सोही ठाउँका नरबहादुर रेउले पनि अहिले फुर्सदमा छन्। घर नजीकैको ढुङ्गेखानीबाट पानीघट्ट र जाँतो बनाउन बिहानैदेखि व्यस्त हुने नरबहादुर मुश्किलले महिनामा दुईचार दिन मात्रै खानीमा आउँछन्। 

सल्यान, रोल्पा,  रुकुम र जाजरकोटबाट समेत पानीघट्ट लिन आउनेहरु अहिले घटेका छन् । गाउँघरमा विद्युतीय मिलबाटै कुटानी पिसानीको काम हुन थालेपछि पानीघट्ट संकटमा परेसँंगै घट्ट निर्माण पेशा पनि संकटमा पर्न थालेको छ ।

बितेका तीनचार वर्षदेखि पानीघट्ट किन्ने मानिसहरु निकै कम आउने गरेको पुने बताउँछन्। ‘मैले १६ वर्षको उमेरदेखि घट्ट बनाउन शुरु गरे त्यतिबेला एकजोडा घट्टको मूल्य ८ हजार रुपैयाँ थियो, काम पनि त्यत्तिकै आउँथ्यो, हामी २५ जनाले एउटै खानीमा काम गर्दा भ्याइनभ्याइ थियो अहिले छ महिनामा एकजोडा पनि बिक्री हुँदैन’, पुनले भने। 

घट्ट बनाएरै आफ्ना छोराछोरीको पढाइ तथा खर्च टार्दै आएका नरबहादुर पनि घट्ट व्यवसाय संकटमापरेपछि चिन्तित छन्। 'कुनै बेला काममा भ्याइ नभ्याइ भयो, छोराहरुलाई पनि यही काममा लगाएँ तर अहिले पेशा मात्रै संकटमापरेन, परिवारको आम्दानी पनि बन्द भयो', नरबहादुरले भने। 

फलाटेमा तीन ठाउँमा पानीघट्टको खानी रहेकाले यसको संरक्षण गर्न गाउँपालिकाले पनि चासो नदिएको  खानी मजदूरको गुनासो छ । 'यहाँको ढुङ्गा निकै बलियो भएकोले घट्टको माग पनि बढी नै थियो, न प्रचारप्रसार भयो न सरकारी निकायले कुनै चासो दियो ।' स्थानीयवासी पूर्णबहादुर रेउलेले भने। उनका अनुसार खानीबाट  रु तीन करोड बढीका घट्ट बिक्री भइसकेको छ ।

अहिले एक जोडा घट्टको मूल्य रु २० हजारदेखि  ६० हजारसम्म पर्ने पूर्णबहादुर रेउलेको भनाइ छ । 'एक जोडा घट्ट निर्माण गर्न चारदेखि छ दिनसम्म लाग्छ तर अहिले पेशा संकटमापरेपछि मानिस भारत तथा अन्य देशमा पलायन हुन थालेका छन्',  पूर्णबहादुरले भने।

पानी घट्ट निर्माण व्यवसाय प्रचारप्रसार तथा व्यवस्थित गर्न सके गाउँमै स्वरोजगारको गतिलो माध्यम बन्न सक्ने भए पनि गाउँपालिकाले कुनै चासो नदिएको स्थानीयवासीको गुनासो छ ।  गाउँपालिकाले खानी व्यवस्थित गर्नका लागि माग नआएको  गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिए। 'कुनै बेला मैले पनि घट्ट बनाउने काम गरेको हुँ, समस्या  छ तर पनि के गर्ने भन्ने माग नै आएको छैन', अध्यक्ष चलाउनेले भने। 

उनीहरुले माग गर्न आएमा गाउँपालिका सहयोग गर्न तयार रहेको उनको भनाइ छ । 'यहाँ पानी घट्ट बनाउने २५ जना छन् उहाँहरुले यसलाई व्यवस्थित गर्नका लागि ठोस योजनासहित माग गर्न आउनुभयो भने हामी सहयोग गर्न तयार छाैं', अध्यक्ष चलाउनेले भने।

जलवायु परिवर्तनका कारण पानीका मुहान सुकेपछि घट्टसमेत कम हुँदै गएकाले माग घटेको हुन सक्ने अध्यक्षको भनाइ छ । 'विभिन्न कारणले पानी घट्टको माग कम भएको हुन सक्छ, यसलाई बुझेर गाउँपालिकाले पनि योजना बनाउँछ', अध्यक्ष चलाउनेले भने। रमेशकुमार वली,रासस

salt training

कमेन्ट गर्नुहोस्