२३ जेठ २०८३, शनिबार

हिजो दिनभरः जामका कारण बिरामीको मृत्यु भएसँगै गृहमन्त्रीले दिए सवारी आवागमन सहज बनाउन निर्देशन

हिजो दिनभरः जामका कारण बिरामीको मृत्यु भएसँगै गृहमन्त्रीले दिए सवारी आवागमन सहज बनाउन निर्देशन

  सडकमा सवारी आवागमन सहज बनाउन निर्देशन 

    गृहमन्त्री रामबहादुर थापाले नौबिसे–कलङ्की सडकखण्डमा भइरहेको सवारी जाम हटाई आवागमन सहज बनाउन निर्देशन दिएका छन् । चाडबाड नजिकिँदै जाँदा ट्राफिक जाम अत्यधिक बढेको जनगुनासो आएको भन्दै उनले तत्काल जनताले महसुस हुने गरी जाम हटाउन सम्बद्ध पक्षलाई शुक्रबार निर्देशन दिएका हुन् । 

    काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकाललाई शुक्रबार मन्त्रालयमा बोलाएर उनले यातायात आवागमन सहज बनाउने निर्देशन दिएका हुन् । 

    उनले जाम भएका क्षेत्रमा ट्राफिक प्रहरीको जनशक्ति बढाउन, व्यस्त समयमा ठूला सवारीसाधनको आवागमनमा रोक लगाउन, बिग्रिएका सवारीसाधन हटाउन आवश्यक क्रेनको व्यवस्था मिलाउन पनि भनेका छन् । 

    जाममा परेका बिरामीको आवश्यकताअनुसार उद्धारका सबै उपाय अपनाउन आग्रह गर्दै चाडपर्वको मौका छोपी हुनसक्ने कालोबजारी तथा यात्रुलाई आवश्यक टिकट वितरणमा समेत उनले ध्यानाकर्षण गराए । 

    उहाँले सडक सुरक्षा तथा मर्मतका सम्बन्धमा भौतिक पूर्वाधार मन्त्रालयसँग समेत समन्वय भइरहेको जानकारी दिए । 
 बैठकमा सरकारी अधिकारीले बिहीबारको जामको तुलनामा शुक्रबार केही सहज रहेको जानकारी गराएका थिए । गृह मन्त्रालयले धादिङका सम्बन्धित सरकारी अधिकारीलाई समेत जाम खुलाउन आवश्यक पहल गर्न शुक्रबारै निर्देशन दिएको छ । शुक्रबारै जामका कारण एक बिरामीको मृत्यु भएको थियो । 

ह्याक प्रकरणः थप तीन आरोपी पक्राउ
 
    कृषि विकास बैंक र पानस रेमिटको सफ्वेयर ह्याक गरेर पैसा निकालिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई शुक्रबार पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखाका अनुसार कञ्चनपुरबाट यज्ञराज भट्ट, पर्वतबाट मालतीदेवी न्यौपाने र काठमाडौँबाट गणेशप्रसाद बस्याललाई पक्राउ गरिएको हो । 

    बैंकबाट भट्टको खातामा रु ४५ लाख र न्यौपानेको खातामा रु २८ लाख हालेको फेला परेपछि अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । बिहीबार पक्राउ परेका प्रतीक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण भुसालको बयानका आधारमा बस्याललाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए ।  भुसालको बैंक खातामा रु ६५ लाख जम्मा भएको पाइएको प्रहरीले जनाएको छ । 

    महाशाखाको टोलीले पानस रेमिट र कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरेर पैसा निकाल्ने कार्यमा संलग्न रहेको १२ जनालाई आइतबार पक्राउ गरी अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार उनीहरूले कृषि विकास बैंकबाट सफ्टवेयर ह्याक गरी रु चार करोड ७३ लाख ९६ हजार विभिन्न व्यक्तिको नाममा पैसा पठाएको तथा पानस रेमिट नयाँ बानेश्वरबाट रु १२ लाख निकालेका थिए । रु १० लाख हुण्डीमार्फत विदेशी ह्याकरलाई पैसा पठाए पनि अन्य पैसा पठाउन भ्याएका थिएनन् । 

    प्रहरीले रु ६० लाख बरामद गरिसकेको छ । यसका मुख्य योजनाकार अफ्रिकी मूलका पिटर रहेको र उनले भारतमा बसेर योजना बनाई नेपाली एजेण्टलाई प्रयोग गरेका खुल्न आएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । 


युवती प्रयोग गर्दै ४० लाख माग्ने पुर्पक्षका लागि थुनामा 

    
युवती प्रयोग गरी विर्तामोडका एक व्यवसायीलाई रु ४० लाख नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका चार व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

    विर्तामोड नगरपालिका–४ मा मोटरसाइकलको रिकण्डिशन हाउस सञ्चालन गर्ने २९ वर्षीय मेराज खान, इलाम फाकफोकथुम–१ घर भई हाल विर्तामोड–२ चारपाने बस्ने रितु फियाक, भारतको दार्जिलिङस्थित खोरीबारी ठेगाना बताउने २७ वर्षीय सञ्जु क्षेत्री भन्ने सुजन शङ्कर र विर्तामोड–४ का २५ वर्षीय प्रकाश दासलाई शुक्रबार जिल्ला अदालत झापाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिए । 

    विर्तामोडका एक व्यवसायीलाई युवती प्रयोग गरी अपहरण गरेको र नाङ्गो भिडियो बनाएर रु ४० लाख फिरौती माग गरेको आरोपमा उनीहरूलाई प्रहरीले गत असार ३ गते पक्राउ गरेको थियो ।

नेकपाको चियापान असोज २९ मा

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दशैँ, तिहार, नेपाल सम्बत् र छठको अवसरमा यही असोज २९ गते बृहद् चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । 

    हरेक वर्ष नेकपाले गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिन लागेको हो । नेकपाको सम्पर्क समन्वय कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रममा महासचिव विष्णुप्रसाद पौडेलले उक्त कुराको जानकारी दिए । 
 पार्टी एकता अघि तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले छुट्टाछुट्टै रूपमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आएका थिए । 

हवाई भाडामा ५० प्रतिशत छुट

    वायु सेवा सञ्चालक सङ्घले दशैँको अवसर पारेर घटस्थापनाको दिनदेखि नै विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ । 

    सङ्घले ७० वर्षमाथिका विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने जनाएको हो । ज्येष्ठ नागरिकले छुट पाउनका लागि सम्बन्धित वायु सेवा कम्पनीको कार्यालयमा आई स्वयम्ले आफू विपन्न भएको व्यहोरा स्वघोषणा गर्नुपर्ने, ‘ट्रङ्क रुट’मा हवाई सेवा सञ्चालन गर्ने वायु सेवा प्रदायकले प्रति सेक्टरमा एक जनालाई मात्रै यस्तो सुविधा दिने जनाएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको योजनाअनुसार नै आफूहरूले हवाई भाडामा छुट दिन लागेको सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जानकारी दिए । 

    कास्कीको क्षेत्र नं २

कास्की क्षेत्र नं २ को मतदाता नामावली असोज २७ गते सार्वजनिक हुने भएको छ । सो संसदीय क्षेत्रअन्तर्गत विभिन्न वडामा असोज १ गतदेखि ७ गतेसम्म मतदाता सूचीको अद्यावधिक तथा दाबी विरोधको अवधि सकिएपछि असोज २७ गते अन्तिम मतदाता सूची सार्वजनिक गर्ने तयारीमा जुटेको जिल्ला निर्वाचन कार्यालय, कास्कीका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए ।  
    सो क्षेत्रमा मङ्सिर १४ गते उपनिर्वाचन हुनेछ । दाबी विरोधलगायतको उजुरीमाथि छानबिन गरेर मतदाता सूची सार्वजनिक गरिनेछ । सो क्षेत्रमा करीब ७२ हजार मतदाता रहेको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो । सो संसदीय क्षेत्रअन्तर्गत पोखराका विभिन्न ११ वटा वडामा खटिएको टोलीले मतदाताको नाम सच्याउने, दाबी विरोध गर्ने, दोहोरो नाम परेमा हटाउनेलगायतका कार्य सम्पन्न गरेको छ ।

    मतदाता नामावली अद्यावधिक गर्नका लागि वडासचिवको संयोजकमा सहयोग समन्वय समिति गठन गरिएको थियो । सो समितिमा स्थानीय सुरक्षाकर्मी, स्थानीय पदाधिकारीका साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि रहेको कार्यालय प्रमुख सुवेदीले जानकारी दिए । 

वडाध्यक्षको छोरालाई कैची प्रहार गर्ने पक्राउ 

    धरान–९ गौतमपथस्थित बिमल श्रेष्ठ सञ्चालक रहेको अपएरो नामक कपडा पसलमा कपडा खरीद गर्न गएका  पुजन लिम्बूलाई छुरी प्रहार गर्ने एक युवालाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको छ । लिम्बू धरान–१९ का वडाध्यक्ष पूर्ण लिम्बूका छोरा हुन् । लिम्बूलाई हिजो साँझ पसलमै आक्रमण भएको थियो । 

    पसलमा कपडा हेरी रहेका बखत धरान–९ गौतमपथ बस्ने २५ वर्षीय अब्दुल भन्ने कलाम मियाँले कपडा काट्ने कैचीले निज पुजनको दाहिनेतर्फको कोखा र पछाडि ढाडको भागमा तीन ठाउँमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

    घटनालगत्तै फरार रहेका मियाँलाई शुक्रबार धरान–२ भानुचोकमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको इप्रकाका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । मियाँविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता प्रक्रियामा रहेको र घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जनाए । 
 
    घाइते पुजनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

प्रदेश नं ५ मा ४८ विधेयक पारित

प्रदेश नं ५ को प्रदेशसभाले करीब २० महीनाको अवधिमा ४८ विधेयक पारित गरेको छ । प्रदेश नं ५ को  अस्थायी राजधानी बुटवलमा विसं २०७४ माघ २१ देखि प्रदेशसभा शुरु भएको थियो ।
 
पारित भएका विधेयकमध्ये १० विधेयक प्रदेशसभाको चौथो (वर्षे) अधिवेशनले पारित गरेको प्रदेश नं ५ को प्रदेश सचिवलायका सूचना अधिकारी मनोज पाण्डेयले जानकारी दिए ।  प्रदेशसभाको पारित भएका सबै विधेयक प्रमाणीकरणसमेत भइसकेको छ । 

खुला दिसामुक्त राष्ट्र घोषणा गरिँदै

नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरी पूर्ण सरसफाइतर्फ अग्रसर हुने प्रतिबद्धता जाहेर गरिने भएको छ । आगामी सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा सो घोषणा गर्न लागिएको हो । 

सो विषयमा शुक्रबार सिंहदरबारमा आयोजित  कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले यो अभियान गाउँगाउँसम्म पुग्नु नै उपलब्धिपूर्ण  भएको बताइन् ।  देशमा विभिन्न किसिमका कठिनाइ हुँदाहुँदै पनि आम मानिसमा चेतना बढ्दै गएको उनको भनाइ थियो । मन्त्री मगरले भनिन्, “कतिपयले विदेशबाट कमाएर ल्याएको पैसाले त कतिले गहनासमेत बेचेर शौचालय बनाएका छन् ।”

मन्त्रालयका सचिव माधव बेल्बासेले यो अभियान तत्कालका लागि मात्रै नभएर दीर्घकालीन महत्वको भएको  बताइन् । 

दिगो समितिद्वारा सुपथ मूल्य पसलको अनुगमन

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिअन्तर्गत गठित कार्यदलले दशैँ, तिहार र छठ पर्व लक्षित गरी गत भदौ २३ देखि यही असोज १७ गतेसम्म एकीकृतरूपमा सञ्चालित साल्ट टे«डिङ कर्पोरेशन र सहुलियत मूल्य पसलको शुक्रबार अनुगमन गरेको छ । 

    अनुगमनमा सांसदहरू कालीबहादुर मल्ल, विमला राई पौडेल र प्रमिलाकुमारी, समिति सचिव निर्मलादेवी लामिछाने (वस्ती) लगायतको संलग्नता थियो । कार्यदलले राजधानीको बागबजारस्थित सुपथ मूल्य पसल र टुकुचास्थित खसी बजारको पनि अवलोकन गरेको जनाएको छ ।

    अनुगमनका क्रममा सुपथ मूल्य पसलमा दैनिक उपभोग्य सामग्रीको उपलब्धता रहेको, वास्तविक मूल्यमा १० देखि ३० प्रतिशतसम्म छुट गरी सामान बिक्री गरिएको पाइएको, टुकुचास्थित खसी बजार व्यवस्थित नभएको पाइएको कार्यदलले जनाएको छ ।

साफ च्याम्पियनसिपको फाइनलमा बङ्गलादेश 
    
    नेपालमा जारी तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद (साफ) यु–१८ फुटबल प्रतियोगिताअन्तर्गत अन्तिम चारणको प्रतिस्पर्धामा  बङ्गलादेश पुगेको छ । 
    
    हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशले भूटानलाई ४–० गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । 
    
    खेलको दोस्रो मिनेटमा नै बङ्गलादेशले अग्रता लियो । बङ्गलादेशका कप्तान यासिन अराफातले गोल गर्दै पहिलो अग्रता लिएका हुन् । त्यस्तै खेलको २७औँ मिनेटमा बङ्गलादेशले अर्का खेलाडी मोहम्मदअहमेद फाहिमले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए । 
     
    खेलको ३२औँ मिनेटमा मोहम्मद मराजले गोल गर्दै खेलको पहिलो हाफअघि बङ्गलादेशलाई ३–० को अग्रता दिलाएका थिए । भूटानविरुद्ध पहिलो हाफमा तीन गोल गरेको बङ्गलादेशले दोस्रो हाफमा एक गोल थप्यो । खेलको दोस्रो हाफको अन्तिम मिनेटमा बङ्गलादेशका दीपक रोयले एक गोल गरेपछि बङ्गलादेशले भूटानमाथि ४–० को सहज जित हात पा¥यो । 
     
    भूटान समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने बङ्गलादेश समूह बी को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो । अब बङ्गलादेशले उपाधिका लागि भारत र माल्दिभ्सबीचको विजेतासँग खेल्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्