
तुलसीपुर – पछिल्लो समय दाङमा पनि महिलाको नाममा भू–स्वामित्व बढ्दै गएको छ ।
मालपोत कार्यालय घोराहीबाट चालू आर्थिक वर्षको डेढ महिनामा ६२३ महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन् ।
समयक्रमसँगै महिला पनि सचेत एवं चनाखो बन्न थालेको भन्दै यसरी जग्गापास गर्ने हिलाको संख्यामा वृद्धि भएको मालपोत अधिकृत चेतलाल न्यौपानेले जानकारी दिए ।
‘महिला पनि सचेत बन्न थालेका छन्,’ उनले भने, ‘पछिल्लो समय महिलाले आफ्नो नाममा जग्गा पास गर्ने गरेका छन् ।’ सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा २५ प्रतिशत छूटसमेत दिने गरेकाले पनि थप आकर्षण पैदा गरेको उनको भनाइ छ ।
यसरी महिलाको नाममा जग्गा पास हुन थालेपछि महिला हिंसाका घटनापनि न्यूनीकरण हुने गरेका बताइन्छ । साथै मालपोतमा रजिस्टेसन पास गर्नेको संख्या पनि वृद्धि भएको छ ।
मालपोत अधिकृत न्यौपानेका अनुसार चालू आर्थिक वर्षको साउनदेखि हालसम्म घोराहीबाट १ हजार २१२ घरजग्गा पास भएका छन् । जसमा ६२३ महिलाको संख्या छ भने ५८९ पुरुषको संख्या छ ।