
बेझाड – गरीब, विपन्न परिवारको उपचारमा आर्थिक सहयोगार्थ पाल्पाको रामपुर नगरपालिकामा भेटिपेटिकाको शुरूवात गरिएकोे छ ।
मृत्यु संस्कारमा भेटघाटको क्रममा लगिने फलफूल, चामल, घ्यू जस्ता कार्यको अन्त्य गरी वडा नम्बर ७ को कार्यालयले भेटिपेटिकाको शुरू गरेकोे हो ।
मृत्यु संस्कारमा लगिने फलफूल, चामल, घ्यूकोे ठाउँमा रकम संकलन गरी गरीब तथा विपन्नको उपचारमा थोरै भएपनि आर्थिक सहयोग पुगोस् भन्ने उद्देश्यले यस कार्यको शुरू गरिएको वडाध्यक्ष तीर्थप्रसाद पंगेनीले बताए । यस कार्यको थालनी वडा र नगरमा मात्र सीमित नरही देशव्यापी रुपमा भएको खण्डमा सामाजिक संस्कारमा गरिने फजुलखर्च सही ठाउँमा सदुपयोग हुने स्थानीय दोवराज तिवारी बताउँछन् ।
आर्थिक अभावमा उपचार गर्न नसक्दा धेरैले अकालमा ज्यान गुमाउनु परेको छ । यस कार्यले थोरै भएपनि उपचारमा केही सहयोग पुग्नेछ । पछिल्लो समय काजकिरिया खर्च बापतको रकम कटौती गरेर सामाजिक क्षेत्रमा सहयोग गर्ने क्रम पनि बिस्तारै बढ्न थालेको छ ।