काठमाडौं – भारतको त्रिपुरा उच्च अदालतले सबै मन्दिरहरूमा पशुपक्षीलाई दिइने बलिमा शुक्रवारदेखि रोक लगाएको छ ।
मुख्य न्यायाधीश सञ्जय करोल र न्यायाधीश अरिन्दम लोधको इजलासले सार्वजनिक सरोकारको निवेदनमा सुनुवाइ गर्दै यो आदेश दिएका हुन् ।
आदेशमा भनिएको छ, राज्यको कुनै पनि मन्दिरको प्रांगणमा पशुपक्षीलाई बलि दिने अनुमति छैन । सबै जिल्ला अधिकारी तथा प्रहरी प्रमुखहरूलाई आदेशको कार्यान्वयन सुनिश्चित गर्न पनि अदालतले आदेश दिएको छ ।
अदालतले राज्यका मुख्य सचिवलाई दुई प्रमुख मन्दिर त्रिपुरेश्वरी र चतुरदासा देवता मन्दिरमा तत्कालै सीसीटीभी क्यामरा लगाउन पनि आदेश दिएको छ । यी दुवै मन्दिरमा ठूलो संख्यामा पशुबलि दिने गरिएको छ ।
उच्च अदालतको आदेशलाई धेरै मानिसले स्वागत गरेका छन् भने केहीले प्रश्न पनि उठाएका छन् । मन्दिरमा पशुबलि निषेधको आदेशसँगै बकरीदमा पनि पशुबलि निषेध गराउन आवाज उठेको छ ।
सन् २०१४ मा हिमाचल प्रदेशको उच्च अदालतले पनि मन्दिरमा पशुबलिमा प्रतिबन्ध लगाएको थियो ।
एजेन्सी