
काठमाडौं – अमेरिकाको एरिजोनामा एक व्यक्तिले ६ वर्षीय बालकमा शैतान प्रवेश गरेको भन्दै त्यसलाई हटाउन घाँटीबाट जबर्जस्ती तातो पानी खन्याएका छन् । त्यसो गर्दा बालकको मृत्यु भएको छ ।
टक्सन नजिक पास्क्वा इन्डियन रिजर्भेसनमा बस्ने ३१ वर्षीय पाब्लो मार्टिनेजलाई हत्याको आरोपमा पक्राउ गरिएको एफबीआईकी एक प्रवक्ताले बताइन् ।
मार्टिनेजले गत साता ६ वर्षीय बालकमा शैतान देखिएको प्रहरीलाई बताए ।
उनले बिहीवार उक्त बालकलाई नुहाउन अघि सरेको उनी आफैं र बालककी धर्मआमा रोमेलिया मार्टिनेजले प्रहरीलाई बताए ।
रोमेलियाले बाथरूमबाट गार्गल गरेको आवाज सुनेको र त्यसको ढोकाको चुकुल लगाइएको बताइन् । उनले बाथरूमको ढोका खोलिन् र मार्टिनेजले बालकलाई बाथटबको धारामुनि राखेको उजुरीमा उल्लेख छ ।
रोमेलियाले मार्टिनेजलाई चिच्याउँदै प्रक्रिया रोक्न भने पनि यो गर्नैपर्छ भनी उनले तातो पानी खन्याइरहेको उजुरीमा उल्लेख छ ।
त्यसपछि रोमेलियाले आपतकालीन नम्बर ९११ मा फोन गरेको बताइन् । अनि मार्टिनेजले बालकलाई सास दिने र चिसो पानी खन्याउने काम गरे ।
अग्निनियन्त्रकहरूले बालक नग्न अवस्थामा रहेको र सिरानीमा अड्याएको अवस्थामा पाए । उसले सास फेर्न सकेको थिएन ।
बालकलाई ब्यानर युनिभर्सिटी मेडिकल सेन्टर लगियो । उनलाई मृत घोषणा गरियो । बालकको शरीरको १५ प्रतिशत डढेको छ । उनको हात, कुहिना र टाउको डढेको छ ।
पास्क्वा याकी प्रहरी विभाग र एफबीआईले संयुक्त अनुसन्धान थालेका छन् ।
एजेन्सी