०३ साउन २०८३, आइतबार

दशैँमा पनि व्यापार नहुँदा व्यवसायीहरु चिन्तित

दशैँमा पनि व्यापार नहुँदा व्यवसायीहरु चिन्तित
फाइल तस्वीर

चितवन –जिल्लाको मुख्य बजार नारायणगढमा दशैँको संघारमा पनि आशा गरे जस्तो व्यापार नभएपछि व्यवसायीहरु चिन्तित भएका छन् । गाउँगाउँसम्म व्यवसाय विस्तार हुँदै गएपछि सामान किन्न मुख्य बजारमा आउने क्रम घटेर गएको हो ।

यसै बजारबाट छिमेकी जिल्लामासमेत सामान जाने गरेकोमा सो क्रम पनि घटेर गएको छ । उद्योग वाणिज्य संघचितवनका अध्यक्ष सहनलाल प्रधान बजारमा चहलपहल कम भएको बताउँछन्। टोलटोलमा राम्रा सपिङ सेन्टर खुलेपछि बजार आउने क्रम घटेको उनको भनाइ छ । अनलाइन सपिङ, आवश्यक भन्दा बढी पसललगायतका कारण पनि बजारमा व्यापार घटेको प्रधानको ठम्याइ रहेको छ ।

किराना व्यवसायी संघचितवनका अध्यक्ष ईश्वरीप्रसाद खराल हरेक वर्ष व्यापार घट्दै गएको बताउँछन्। गत वर्षको भन्दा आधा पनि व्यापार यसवर्ष नभएको उनको भनाइ छ । सामान मगाएर बिक्री गर्न व्यवसायी डराएको भन्दै उहाँले विभिन्न नाममा बुझाउनुपर्ने करका कारण व्यवसायी आजित र त्रशित भएको बताए। व्यवसायी कर तिर्न चाहान्छन् तर कति ठाउँमा कर तिर्ने हो खरालले प्रश्न गरे ।

व्यापार घट्ने र खर्च बढ्ने हुँदा व्यवसायी धानीन मुस्किल भएको उनी बताउँछन्। फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष खिमलाल अर्याल भाटभटेनी, चौधरी जस्ता ‘मल’ र गाउँगाउँका पसलका कारण ग्राहक बजार आउने सङ्ख्या घटेको बताउनुहुन्छ । विगत २६ वर्षदेखि बजारमा व्यवसाय गर्दै आउनुभएका अर्याल अघिल्ला वर्षको तुलनामा खर्च दोब्बर भएको तर व्यापार आधा भएको बताउँछन्। पुरानो पसल भएकाले पसलनै बिक्री गर्न खोज्दा बिक्री नहुने र व्यापार पनि नहुने भएकाले धानेर कति दिन बस्ने अन्योलमा परेको आर्यलले गुनासो गरे।

एउटै फेन्सी पसलमा रु ५० लाख भन्दा बढी लगानी हुने भन्दै उनले त्यसको ब्याज, बढ्दो घरभाडा र कर्मचारीको पारिश्रमिकका कारण व्यवसायी दिनानु दिन धरासयी बन्दै गरेको बताए।

कपडा व्यवसायी संघचितवनका अध्यक्ष लक्ष्मीनारायण श्रेष्ठ हरेक वर्ष व्यापार घट्दो क्रममा रहेको बताउँछन्। थोक र खुद्रा दुबै व्यवसाय प्रभावित भएको उनको भनाइ थियो । बाउबाजेले गरेको पेशा भएकाले छोड्न नसकेको भन्दै उनले भने, 'जानेको यही हो । छोडेर के गर्नु । फसेको फस्यै भइयो ।'

नारायणगढ बजारमा सीमित स्थानमा मात्र पार्किङ् रहेको छ । तीनपाँग्रे सवारी सञ्चालन गर्न पाइदैन । यी कारणले पनि ग्राहक बजार आउन रुचाउँदैनन् । यससँगै एउटै सटरको भाडा रु ५० हजारसम्म पर्ने गर्दछ । जसका कारण बिक्री मूल्य बढी हुने ग्राहकको अनुमान छ । यसैले गर्दा पनि ग्राहकको रोजाइँ बजार कम हुँदै गएको छ ।

भरतपुरको ओरालोमा सुविधा सम्पन्न भाटभटेनी र सिजी मल शुरु भएको छ । भाटभटेनीमा आवश्यक सबै सामग्री एकै स्थानमा पाइन्छ । सिजीमा ब्राण्डेड सामग्री पाइन्छ । दुवै स्थानमा पार्किङ्को सुविधा रहेको छ । ती ठाउँ वातावरण अनुकूलित भएकाले ग्राहकको रोजाइँमा परेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्